जनकपुरको पहिलो हार, सुदूरपश्चिम ७२ रनले विजयी

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण
जनकपुरको पहिलो हार, सुदूरपश्चिम ७२ रनले विजयी

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपटक पराजित भएको छ । आफ्नो पाँचौँ खेलमा जनकपुर लज्जास्पद प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भयो । जनकपुर एनएिलमा कम रन बनाउने खराब नतिजाबाट गुज्रिएको छ । यसअघि पोखराले चितवनसँग ७२ रन बनाएको थियो। 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ  गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १२४ रनको लक्ष्य प्रस्तुत गरेकाे थियाे । प्रत्युत्तरमा जनकपुर १२ ओभरमा अलआउट हुँदा मात्र ५१ रन बनाउन सक्यो ।

आठ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर लगातार पाँचौँ जितबाट वञ्चित भयो । यो हारले नेटरन रेटमा पछि पर्दै टोली दोस्रो स्थानमा झरेकाे छ । १८औँ खेलमा आएर टोलीले पहिलो हार व्यहोरेको छ । जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेट, पोखरालाई सात विकेट तथा लुम्बिनीलाई एक रनले हराएको थियो ।

एक खेल हारेको सुदूरपश्चिम जनकपुरलाई हराउँदै अंक बराबरी गर्न सफल भयो । अन्तिम खेलमा चितवनसँग ३३ रनले हारेको सुदूरपश्चिमले विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो । 

चौथो खेलसम्म ब्याटिङमा जमेको जनकपुर सुदूरपश्चिमको बलरसामु निरीह भयो । सुदूरपश्चिमका पाँँचै स्पिनर हाबी भएपछि जनकपुरका एक खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए ।

हर्मित सिंहको बलमा एलबिडब्लू धरापमा पर्नुअघि जोसुआ ट्रोम्पले सर्वाधिक १३ रन बनाए । ओपनर तथा कप्तान अनिलकुमार साह सात बल खेलेर डकआउट भए । मार्की तथा ओपनर आसिफ शेख चार, लाहिरु मिलान्था सात, हर्ष ठाकर पाँच, जेम्स निसम चार अरनिको यादव एक, शुभ शंकर तीन बल तथा शेर मल्ल चार बल खेलेर डकआउट  भएका थिए।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेसँगै पहिलो खेल खेलिरहेका अमेरिकाका हर्मित सिंहले समान दुई विकेट हात पारे । सैफ जैव, नरेन साउद र स्कट कुगेलेइनले समान एक विकेट हात पारे ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा सर्वाधिक ३३ रन बनाए । शेर मल्लको बलमा ट्रोम्पबाट क्याचआउट हुनुअघि विनाेदले तीन चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर सैफ जैवले २१ बलमा दुई छक्कासहित २१ रन नै बनाए । पहिलो विकेटका लागि विनोद र जैवबिच  ५५ रनको साझेदारी भएको थियो । ७.४ ओभरमा पहिलो विकेट गएपछि अन्य ब्याटरले ठुलो स्कोर बनाउन सकेनन् ।

इशान पाण्डे १७ रन  तथा ब्रान्डन म्याकमुलन ११ रन बनाएर आउट भए । कप्तान तथा मार्की दीपेन्द्रसिंह ऐरी तीन बल खेलेर डकआउट भएका थिए । भारतलाई सन् २०१२ मा यू–१९ विश्वकप जिताएका हरमित सिंह पनि एक रन बनाएर आउट भए । उनी एनपिएलमा पहिलो खेल खेल्दै छन् । मध्यक्रमका आरिफ शेख ६, स्कट कुगुलेइन सात, नरेन साउद तीन  रन बनाएर आउट भएका थिए । नाै रन बनाएका नरेश बुडाऐर र दुई रन बनाएका अभिनाश बोहरा अविजित रहे ।

जनकपुरका किशोर महतोले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा ३५ रन खर्चिए । शेर मल्ल, अरनिको यादवले समान दुई तथा हर्ष ठाकरले एक विकेट लिएका हुन् । चार ओभर बल फ्यालेका ललित राजवंशी र दुई ओभर बल फ्यालेका जेम्स निशम विकेटविहीन भए । आज नै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

See More On

सुझावित समाचार