१८ पुसदेखि एन्फा महिला सुपर लिग

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

एन्फा महिला सुपर लिग फुटबल प्रतियोगिताको दोस्रो चरण खेल १८ पुस देखि १६ माघसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र सुपर लिग खेल्ने पाँच टोलीका प्रतिनिधिबिच मंगलबार भएको संयुक्त बैठकले मिति तय गरेको हो । सुपर लिगको खेल एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको फाइनल खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । पहिलो चरणको अंक दोस्रो चरणमा जोडिनेछैन । एन्फाले यसपटक छनोट, लिग र सुपर लिगमा‌ महिला लिग सञ्चालन गरेको हो । 

तीन चरण गरी लिगमा ९० खेल हुनेछन् । यसअघि भएको पहिलो चरणमा शीर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान पक्का गरेका थिए । पाँचौँ स्थानको कोशी प्रदेश फुटबल क्लबले आर्थिक कारण देखाउँदै १८ पुसबाट सुरु हुने लिगमा सहभागिता नजनाउने निर्णय लिएको छ । कोशीले भाग नलिने भएपछि छैटौँ स्थानको बागमती युथ क्लबले सुपर लिग खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

‘कोशीले भाग नलिने भएपछि छैटौँ स्थानको बागमतीलाई मौका दिएको हो,’ शाहले भने, ‘लिगको सबै तयारी भइसकेको छ ।’ सुपर लिगमा एपिएफ, त्रिभुवन आर्मी, नेपाल, वालिङ नगरपालिका र बागमतीले प्रतिस्पर्धा गर्नेछन् । लिगको मिति तथा अन्य विषयमा छलफलमा शीर्ष चार टोलीका पदाधिकारीहरूले भाग लिएको प्रवक्ता शाहले बताए । एन्फाका प्रतिनिधिको बैठकमा सहभागिता रहेको शाहले बताए । सुपर लिगबाट शीर्ष चार टोली प्ले–अफका लागि छनोट हुनेछन् । शीर्ष दुई टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । यस खेलको विजेता फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा पराजित टोलीले तेस्रो र चौथो स्थानबिचको विजेताले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

See More On

सुझावित समाचार