एकपटक घनश्याम दास बिडला कार्यालय जाँदै थिए । तर, विशेष कारणवश उनलाई कार्यालय पुग्न ढिलो भइरहेको थियो । त्यसैले, उनका चालकले गाडी तीव्र गतिमा हाँकिरहेका थिए । उनको गाडी एउटा पोखरीको छेउबाट अघि बढ्दै थियो । त्यहाँ मानिसको निकै ठुलो भिड थियो । सबैजना बचाऊ, बचाऊ भन्दै चिच्याइरहेका थिए ।
घनश्यामले चालकसित सोधे— यहाँ मानिसको भिड किन लागेको रहेछ ? फेरि उनीहरू बचाऊ, बचाऊ भनेर कसलाई बचाउन भनिरहेका छन् ? चालकले जवाफ दिए– खै सर, सबै कुरा त बुझिएन । तर, कोही पोखरीमा डुबिरहेको हुनुपर्छ । घनश्याम दासले तत्कालै चालकलाई गाडी रोक्न लगाए । उनी हतारहतार गाडीबाट बाहिर निस्किए । भिडको छेउबाट हेर्दा एउटा नौ–दश वर्षको बालक पोखरीमा डुब्दै गरेको देखियो । तर, पोखरीमा डुब्दै गरेका बालक निकाल्न पोखरीमा हाम फाल्नुको साटो वरिपरि भएका सबै रमिता हेर्दै बचाऊ, बचाऊ भनेर चिच्याइरहेका थिए ।
यो सब देखेपछि घनश्याम दास तत्कालै पोखरीमा झ्वाम्म हामफाले र पौडँदै गई बालकको हात समातेर बाहिर ल्याए । बालकले निकै पानी पिइसकेका थिए । उनी बेहोस अवस्थामा थिए । त्यसैले, घनश्याम दासले आफ्नै गाडीमा राखेर बालकलाई अस्पताल पुर्याए । केहीबेरमै बालकका अभिभावक पनि आइपुगे । चिकित्सकले बालक खतरामुक्त रहेको बताएपछि मात्र उनी कार्यालयतर्फ गए । तर, उनका लुगा, जुत्ता सबै भिजेकै अवस्थामा थिए, सुकेका थिएनन् ।
घनश्याम दासलाई यस्तो अवस्थामा कार्यालय आएको देख्दा उनका कर्मचारी सबै छक्क परे । जब उनले गरेको कामबारे पछि थाहा पाए, सबैले उनको खुलेर प्रशंसा गरे । तर, घनश्याम दासले भने– मैले यो कुनै प्रशंसायोग्य काम गरेको होइन, आफ्नो कर्तव्य निभाएको मात्र हुँ । सबैले मौका आइपर्दा यसैगरी आआफ्नो कर्तव्य निभाउनबाट कहिल्यै पछि हट्नु हुँदैन ।