एमाले सचिवालय बैठकको निष्कर्षः प्रधानमन्त्रीको चीन भ्रमण सफल

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

एमालेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

‘फ्रेमवर्क फर बिआरआई कर्पोरेसन बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा भएका सम्झौता नेपालको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण उपलब्धि हो,’ नेता ज्ञवालीले भने, ‘सत्तामा रहेका दुई पार्टीबिचमा जुन खालको समझदारी भएको छ । त्यसले बिआरआईलाई निष्कर्षमा पुर्याउन भूमिका खेलेको छ।’

नेता ज्ञवालीले बिआरआईमा कांग्रेस र एमालेबिच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र बाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताए। उनले हालै भएको चीन र नेपाल पक्षबिच भएको सहमति दुवै देशले चाँडै नै कार्यान्यवन गर्न पार्टीले जोड दिएको बताए ।  प्रधानमन्त्री ओली यही १७ देखि २० मंसिरसम्म चीन भ्रमणमा गएका थिए। उनले बिआरआईप्रति नकारात्मक टिप्पणी गर्नु गलत भएको पनि बताए। 

नेपालजस्तो देशले संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन र पाँचौँ अर्थतन्त्र भएको भारतसहित अरू विकसित देशसँग जोडिएर अगाडि बढ्न सक्ने उनले बताए। 

उपमहासचिव ज्ञवालीले उपनिर्वाचनको परिमाणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए। ‘उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएको छ। हामीले एउटा अध्यक्ष, दुईवटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जितेको छौँ, तर यति हुँदाहुँदै पनि परिणामलाई गम्भीर रूपमा लिएका छौँ,’ उनले भने, ‘खासगरी कीर्तिपुर नगरपालिका, त्यहाँका वडा र काठमाडौं महानगरपालिका–१६ जस्ता सहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिमाण नआएकाप्रति हामी गम्भीर भएका छौँ।’

सुझावित समाचार