प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजारसहित तीनजनालाई पक्राउ गरेको छ। भन्सार छलीको गाडी निर्वाध रूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीनजनालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकालाई आज सार्वजनिक गरेको छ। सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवी पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाली बस्ने २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा२४च ३२९३ नम्बरको गाडी, बि ए ए ७७७९ नम्बरको कार, १४ लाख ६० हजार नगद, पाँच थान ल्यापटप, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ।
नौ जुवाडे पक्राउ
काठमाडौंको टोखा नगरपालिका–१० गोँगबुस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जुवाडेलाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५० हजार नेपाली रूपैयाँ, सात सय अमेरिकी डलर र चार बुक ताससहित पक्राउ गरेको हो।