जहाँबाट ल्याए पनि न्यायाधीश योग्य ल्याउनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले क्याडर वा कानुन व्यवसायी जहाँबाट ल्याए पनि न्यायाधीश योग्य हुनुपर्ने बताएका छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ लमा आयोजित अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्। 

सोमबार आयोजित कार्यक्रममा उनले आफूले एक वर्ष कानुन व्यवसायीका रूपमा समेत काम गरेको स्मरण गर्दै जुनसुकै पृष्ठभूमिबाट नियुक्ति भए पनि योग्यलाई नियुक्ति गर्नुपर्ने बताएका थिए। ‘कुनै विचार राख्दैमा नल्याउने भन्ने हुँदैन। विचार हुन्छन् होला, तर न्यायाधीश भइसकेपछि सुषुप्त राख्नुपर्छ। काममा इमानदार छु, निष्पक्ष छु भन्ने हुनुपर्छ,’ उनले भने। 

न्यायपरिषद्को संरचनाले नियुक्ति प्रभावित बनाउने विषयमा समेत उनले नेतृत्व गर्ने व्यक्तिले पनि त्यो कुरा निर्धारण गर्ने धारणा राखे। प्रधानन्यायाधीश मात्र नभई समग्रमा सामूहिक निर्णय हुने र आफूले नियुक्तिमा राम्रा निर्णय गरेको उनको भनाइ थियो। परिषद् नेतृत्व सम्हालेपछि उनले जिल्ला र उच्चका साथै सर्वोच्च अदालतमा पनि दुई न्यायाधीश नियुक्त गरेका थिए। 

‘कुनै विवशताभन्दा पनि मलाई कस्तो अनुभव भयो भने सैद्धान्तिक रूपमा ०७२ को संविधान आइसकेपछि, जजहरूको बाहुल्यता भएन भन्ने थियो। तर, मलाई काम गर्न गाह्रो भएन। राम्रो व्यक्ति त्यो ठाउँमा पुग्यो भने क्षमता देखाउन सक्छ। काम गर्न सक्छ,’ उनले अनुभव सुनाए, ‘संरचनाले पक्कै पनि भूमिका खेल्छ। स्वार्थमा नलागेको मान्छे पुग्यो भनेचाहिँ पोलिटिकल्ली इफेक्ट हुने कुरा व्यक्तिमा भर पर्ने कुरा हो।’ 

राम्रो न्यायाधीश नहुँदा सम्पूर्ण सिस्टम नै बर्बाद हुने उनको भनाइ थियो। आफूले न्यायालयमा प्रविधि प्रवेश गराएको भन्दै उनले यसबाट न्यायालय शुद्धीकरणमा योगदान पुगेको बताए।
 

सुझावित समाचार