गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीमाथि २५ ग्रामको सुनको सिक्री भन्सारबाट छुटाउन ३० हजार घुस मागेको आरोप लागेको छ।
२१ मंसिरमा दुबईबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी अर्घाखाँचीकी धनमाया पाण्डेले लगाएको सुन भन्सारबाट छुटाउन ती कर्मचारीले ३० हजार घुस मागेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दर्ता गराएकी छिन्। उनी सन् २०१३ देखि दुबईमा रोजगारीका सिलसिलामा रहँदै आएकी छिन्।
नियमित लगाउँदै आएको २५ ग्रामको सुनको सिक्री छुटाउन विमानस्थलका कर्मचारीहरूले ३० हजार घुस मागेको र ती कर्मचारीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। उनले भने, ‘उजुरीपछि विमानस्थल भन्सार शाखालाई पत्राचार गर्दै छाैँ, जवाफ के आउँछ अनि बल्ल कारबाही प्रक्रिया अगाडि बढ्छ,’ प्रजिअ घिमिरेले भने।
भन्सार नियमावलीअनुसार पुरुषको हकमा २५ ग्राम सुनका गरगहना र महिलाको हकमा ५० ग्राम सुनका गरहगना ल्याउन पाइन्छ। भन्सारका कर्मचारीहरूले ३० हजार माग गरेको र रकम नदिएपछि अनुसन्धानका लागि भन्दै कर्मचारीले जबर्जस्ती सिक्री राखेको धनमाया पाण्डेको दाबी छ।
विमानस्थल भन्सार अधिकृत पवित्रा ज्ञवालीले यात्रुले लगाएको आरोप सही नभएको बताइन्। भैरहवा विमानस्थल बल्ल सञ्चालन हुन थालेको र यात्रुहरूलाई भन्सार नियम बुझाउन नसक्दा गलत आरोप लगाएको दाबी गरिन्। उनका अनुसार २५ ग्राम सुनको सिक्री छुटाउन २५ देखि ३० हजार राजस्व बुझाउनुपर्ने हुन्छ। कर्मचारीले ३० हजार जति लाग्छ पैसा जम्मा गर्नुस् भनेका हुन् । तर, यात्रुले त्यो कुरालाई घुस रकम भनेर गलत व्याख्या गरेको उनले दाबी गरिन्।
उनले भनिन्, ‘घटनाको समयमा म कार्यालयमा थिइनँ। पछि जानकारी लिँदा कर्मचारीको गलत नियत देखिएन्। बरु यात्रुले विमानस्थलभित्र होहल्ला गरेको र अनावश्यक भिडियो बनाएकाले उहाँलाई भिडियो हटाउन लगाएका थिए।’
यात्रु पाण्डेले जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा उजुरी दिएको र प्रशासन कार्यालयबाट घटना बारे स्पष्टीकरण दिन पत्र आएकाले घटनाको विवरण जस्ताको त्यस्तै पठाएको भन्सार अधिकृत पाण्डेले बताइन्।