ललितपुर महानगरपालिकाले पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको खाली जग्गामा लगाइएको अवैधानिक बार हटाएरको छ।
सर्वोच्च अदालतको आदेशपछि महानगरपालिकाले विद्यालयको जग्गा वरिपरि ठेकेदार कम्पनीले लगाएको बार भत्काउन सुरु गरेको हो। मंगलबार नगर प्रहरीसहितको टोली पुगेर ठेकेदार कम्पनीले कार्यालय चलाएको कोठाको ढोका खोल्ने र एकातर्फको बार भत्काउने कार्य गरेको हो।
महानगरपालिका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सो जग्गा अब पार्क तथा पार्किङ प्रयोजनको लागि प्रयोग गर्दा उपयुक्त हुने बताए। ‘कानुनको दुरुपयोग गरेर भाडामा लगाएको जग्गा अदालतले बचाइदिएको छ, अब यसको थप संरक्षण र सदुपयोग हामीले गर्छौँ,’ उनले भने, ‘यहाँ अब पार्किङ र पार्क बनाउन सकिन्छ, यस क्षेत्रमा पार्किङको लागि अन्य ठाउँ छैन, यो ठाउँ उपयुक्त हुन सक्छ।’
विद्यालयको करिब १० रोपनी एक आान जग्गा ४० वर्षको लागि असार ०६९ मा गैरकानुनी रूपमा लिजमा लगाएपछि दरबार टोल विकास संस्था र स्थानीयहरूले मुद्दा दायर थिए। सो मुद्दामाथि सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै भाडामा नलगाउन भनेपछि महानगरपालिकाले जग्गा संरक्षण गर्न लागेको हो।