इजरायली कारबाहीविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

प्यालेस्टाइनीमाथि इजरायली कारबाहीविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिवाटिका काठमाडौंमा सोमबार हस्ताक्षर गरेर अभियानको सुरुवात गरिएको हो ।

पहिलो दिन सोमबार पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्नि सापकोटा, माओवादी महासचिव देव गुरुङ, सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जसपा विदेश विभागका नोच्छे नारायणलगायतले हस्ताक्षर गरेका छन् ।

‘प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले हस्ताक्षर अभियान गरेको हो । अभियान एक महिनासम्म चल्ने अभियानका संयोजक श्याम श्रेष्ठले जानकारी दिए । अभियानमा १४ वटा राजनीतिक दल र बृहत् नागरिक आन्दोलनसहित आठवटा नागरिक संस्था छन् । त्यसको संयोजन प्रगतिशील रूपान्तरण आन्दोलनले गरेको छ । 

उपत्यकाको सात स्थान रत्नपार्क, नयाँबानेश्वर, चाबहिल, कीर्तिपुर, लगनखेल, भक्तपुरको सिद्धपोखरी र बालाजुको माछापोखरीमा मंगलबारदेखि दिउँसो हस्ताक्षर अभियान जारी रहनेछ । मंसिरभरि उपत्यकाव्यापी हस्ताक्षर अभियान सकेपछि सातै प्रदेशमा अभियान सुरु हुने श्रेष्ठले बताए । ‘मंसिरभर उपत्यकामा हस्ताक्षर संकलन हुन्छ, पुस लागेपछि प्रदेशहरूमा हुन्छ । प्रदेशमा सकिएपछि डिजिटल माध्यमबाट संसारभर रहेका नेपालीको हस्ताक्षर संकलन गरिन्छ,’ उनले भने । हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउने तयारी छ ।

‘प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’मा संलग्न सबै दल र नागरिक संस्था जम्मा भएर प्यालेस्टिनी जनतामाथि इजरायली जनसंहारविरुद्ध एक महिना लामो बृहत् हस्ताक्षर अभियान प्रारम्भ गरिएको छ । जनसंहारविरुद्ध ऐक्यबद्धता जनाउन हस्ताक्षर अभियानमा सहभागी हुन अपिल गर्दछौँ,’ उनले भने । 

नेपाली जनता न्यायका लागि बोल्छन् भन्ने सन्देश प्रवाह गर्न अभियान सञ्चालन गरिएको श्रेष्ठले बताए । ‘पहिले संसारको कुनै पनि कुनामा अन्याय हुँदा, मानव अधिकार हनन हुँदा नेपाल जुरुक्क उठ्थ्यो, अहिले उठ्न छाड्यो । अमेरिकामा विरोध हुने, बेलायतमा विरोध हुने, नेपालमा नहुने अवस्थामा नेपालमा पनि विवेक छ, न्यायका लागि नेपाली जनता बोल्छन् भनेर अभियान सञ्चालन गरिएको हो,’ उनले भने । 

यसअघि विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले गत २६ कात्तिकमा संयुक्त विरोध प्रदर्शनसहित काठमाडौंस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाएका थिए । गाजामा इजरायली आक्रमणबाट ४५ हजारभन्दा बढी मानिस मारिएका छन्, जसमध्ये ७० प्रतिशत महिला र बालबालिका छन् । नाकाबन्दी गरेर औषधि र खानेकुराको समेत अभावमा वमवर्षाबाटभन्दा धेरै मानिस मारिने अवस्था आएको अभियन्ताहरूले बताएका छन् । 

See More On

सुझावित समाचार