बिहान भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी सिलवाललाई दिउँसो भ्रष्टाचारको मुद्दा

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरेको थियो। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सरकारका धेरैजसो उच्च अधिकारीहरू सहभागी थिए। 

त्यसमध्ये एक थिए, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल। ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचारविरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका  आयोजित कार्यक्रममा भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन सिलवाल पनि पुगेका थिए। तर, अफसोच त्यसको केही घन्टामै उनी भ्रष्टाचारका आरोपी बनेका छन्। सिलवालविरुद्ध सोमबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। फरक–फरक जन्ममिति राखी थरी–थरी नागरिकता बनाएर अवकाश हुने समयमा पनि पदमै बसेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो। 

सरकारी सेवामा प्रवेश गर्दाको जन्ममितिअनुसार सिलवालले प्राधिकरणबाट ६५ वर्षे सेवाहदका कारण गत १६ साउन २०८० मै अवकाश पाउनुपर्ने थियो। तर, जन्ममिति सच्याएर उनी पदमै बसेको भन्दै त्यसयता लिएको ३६ लाख ६२ हजार एक सय ५४ रुपैयाँ तलब तथा सेवासुविधालाई बिगो कायम गरी मुद्दा दायर गरेको हो।  

सरकारका पूर्वसचिवसमेत रहेका सिलवालले निजामती किताबखानाको सिटरोलमा जन्ममिति १५ साउन २०१५ उल्लेख छ। पछि पासपोर्ट बनाउँदा जन्ममिति २४ कात्तिक २०१८ उल्लेख गरी झुट्टा विवरण पेस गरेको अख्तियारको अभियोग छ। 

उनले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए । तर निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।

पछि उनी बीमा समितिको अध्यक्षमा नियुक्त भए । त्यतिबेला सार्ववजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएका व्यक्ति अवकाश हुनुपर्ने व्यवस्था थियो ।

तर, १५ साउन २०८० मा अवकाश पाउनुपर्ने सिलवालले पछि भने आफ्नो जन्म मितिबारे फरक दाबी गरे । २४ कात्तिक २०१८ मा आफ्नो जन्म मिति रहेको दाबी गर्दै उनले ६५ वर्षपछि समेत पदमा बहाल रहेको भन्दै अख्तियारले प्रश्न उठाएको हो ।

सुझावित समाचार