उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
उक्त अवसरमा शुभकामना आदान-प्रदानपश्चात क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौतीहरू तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको छ। उनले भने, ‘तत्कालीन होनहार संस्थापक नेताहरूले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ।’
उपराष्ट्रपति यादवले सार्कका महत्त्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९औँ शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषय उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताए। ‘लोकतान्त्रिक प्रणाली, सुशासन र मानव अधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रहरूबिचको साझा प्रतिबद्धता अत्यावश्यक छ,’ उनले भने, ‘म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु।’
सार्कका महासचिव मोहम्मद गुलाम सरवरले अगामी सार्क चार्टर डेको लागि सबै सदस्य राष्ट्रहरूको शुभकामना प्राप्त गरेको उल्लेख गरे। उनले सार्क मुलुकहरूको विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताए। उनले भने, ‘सार्क राष्ट्रहरू सम्पन्न हुन साझा प्रयास जरुरी छ।’