नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले बिचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रस्टै देखिएको बताए ।
‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तिनको हातमा राजनीति छैन । उनीहरूको राजनीति बिचौलिया र दलालहरूको हातमा छ भन्ने प्रस्टै देखिएको छ । उनीहरू त खालि मुखौटा मात्रै हुन्,’ ‘प्रचण्ड’ले भने । साथै, उनले रातको अँध्यारोमा बिचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गरे ।
‘बिचौलियाहरूले घुमाएर, आ–आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ, नत्र राख्दैनौँ भनेर गरिएका मुखौटाहरूबाहेक केही पनि देखिएन,’ प्रचण्डले भने ।
साथै, उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गरे । ‘अब फेरि जनताको तागत देखाउनुपर्ने भयो भनेर जनताको बिचमा गएर तागत केन्द्रीकृत गर्छु भनेको थिएँ । त्यहीअनुसार हामी सबै प्रदेशमा गयौँ,’ प्रचण्डले भने ।