म्याग्दीको मुनामा संकटापन्न वन्यजन्तु रेडपान्डा भेटियो

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

धौलागिरि गाउँपालिका– ३ मुनाको बन्चरेडाँडा जंगलमा संकटापन्न जंगली जनावर रेडपान्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोवास गर्ने रेडपान्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपान्डा भेटाएका हुन् ।

धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपान्डाको तस्बिर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गरेका थिए । साबिक मुना गाविसको जंगलमा पहिलोपटक रेडपान्डा भेटिएको स्थानीय पुनले जानकारी दिए ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बन्चरेडाँडामा भेटिएको उक्त जनावर रेडपान्डा भएको पुष्टि गरे । ‘भिडियो र तस्बिरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपान्डाको वासस्थान रहेको पुष्टि भएको छ,’ उनले भने, ‘रेडपान्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौँ ।’

वि.सं. ०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपान्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुसार यसअघि रेडपान्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन ।

‘आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जंगलमा हलुका रातो, सेतो र कालो रङको रेडपान्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन,’ उनले भने, ‘संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपान्डाको संख्या वृद्धि भएर देखिन थालेका हुन् ।’

रेडपान्डाकाे वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपान्डाको महत्त्वबारे जानकारी गराइएको थियो ।

रातको समयमा रुखको टोड्कामा वास बस्ने र दिउँसो रुखका हाँगा बसी आराम गर्ने, भोक लागेको वेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपान्डाको महत्त्वबारे जानकारी पाएपछि समुदायस्तरमा पनि संरक्षणमा चासो बढेको छ ।

सुझावित समाचार