देशमा स्थिरता ल्याउन कांग्रेस-एमाले एक भएका हौँ : प्रधानमन्त्री ओली

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले देशमा राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठुला दल कांग्रेस-एमाले मिलेर सरकार बनाएको बताएका छन् । झापाको दमक- ३ स्थित बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी आयोजनाको उद्घाटन गर्दै दुई पार्टी नमिल्दा देशमा अस्वस्थ प्रतिस्पर्धा भएको बताएका हुन् ।

‘देशमा राजनीतिक स्थिरता भएन । अस्थिरता भयो । देशमा दुई ठुला पार्टी नमिल्दा अत्यन्तै अस्वस्थ खालका गतिविधि भए । विभिन्न प्रकारका तमासाबाजी गरेर सरकारले काम गर्ने हाेइन सरकार धाकधम्की लगाउने ठुला कुरा गर्ने चलन चल्यो । बाच्छाहरूले पनि हान्ने अवस्था आयो,’ ओलीले भने, ‘कहिले एमालेलाई घ्याच्च पारेर हानेको छ । हान्दैमा केही हुँदैन । मुडुला सिंग नपलाएका बाच्छाले हान्दैमा के हुन्छ र ? तर, त्यो तरिका गरिराखे ।’ उनले साना दलबाट देश बनाउने कुनै सोच नदेखिएको बताए ।

देशमा स्टनबाजी, अस्थिरता र अन्योलले देश नबन्ने भन्दै देश बनाउन दुई ठुला दल एक भएको बताए । आफू  १८–१९ महिनासम्म प्रधानमन्त्री हुने बताउँदै ओलीले त्यो अवधिमा देशमा सुस्त भएको विकासका गतिविधिलाई गति दिने दाबी गरे ।

प्रधानमन्त्री ओलीले दमकको विकासले फड्को मारेको दाबी गरे । उनले पूर्व–पश्चिम, उत्तर–दक्षिण सबै खोलामा पुल बनेको बताए ।  ‘०४८ सालमा म चुनाव लड्न आउँदा माथिल्लो भागमा बाटो थिएन । गाडीमा कोदालो बोकेर हिँड्नुपर्थ्याे । यस्ता बिजुली थिएन,’ उनले भने, ‘मैले दमकमा टुकी बालेर सभा गरेको हुँ । दुई–चारवटा टेलिफोन थियो । त्यो पनि प्रतिष्ठित व्यक्तिकोमा मात्र ।’

प्रधानमन्त्री ओलीले दमकवासीलाई अप्ठ्यारो परेका वेला आफ्नो प्रतिनिधिलाई सम्झन आग्रह गरे । उनले अब उपभोक्ता समितिबाट काम गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । ‘उपभोक्ता समितिबाट धेरै गराउने हाेइन । ठेक्का लगाउनुपर्छ । खण्डखण्डमा काम गरेर आफ्नै मान्छेको उपभोक्ता समिति बनाउने अनि अलिअलि ल्याप्प पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ,’ ओलीले भने । प्रधानमन्त्री ओली आइतबारदेखि गृहजिल्लाको भ्रमणमा छन् । उनी दुई दिनमा गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

सुझावित समाचार