मानव अधिकारको संरक्षण र प्रवर्द्धन सबैको नैतिक दायित्व हो : अध्यक्ष दाहाल

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानव अधिकारको संरक्षण र प्रवर्द्धन कुनै वैकल्पिक कार्य नभई सबैको नैतिक दायित्व भएको बताएका छन्। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित १६औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

मानव अधिकारको मुख्य आधार सम्मान, समानता, अवसर र न्याय भएको चर्चा गर्दै अध्यक्ष दाहालले भने, ‘सबैखाले विभेद र असमानताको अन्त्य एवं सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारमा समाजलाई समतामूलक बनाउनु हामी सबैको कर्तव्य हो।’

‘सीमान्तकृत समुदाय आदिवासी जनजाति, दलित, महिला, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक र अन्य पिछडिएका वर्ग अझैँ पनि संरचनात्मक विभेद, गरिबी, अवसरको अभाव र जलवायु परिवर्तनजस्ता समस्या भोगिरहेका छन्,’ उनले भने, ‘सीमान्तकृत समुदायको अधिकार संरक्षणका लागि नीतिगत परिवर्तनका साथै उनीहरूलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्दछ।’

मानव अधिकारको संरक्षण र स‌ंवर्द्धनका बारेमा कुरा गर्दा कसको मानव अधिकार भन्ने विषयमा समेत चर्चा हुन आवश्यक रहेको भन्दै उनले विपन्न र सीमान्तकृत समुदायको मानव अधिकारका सवालहरूलाई कति समेटेको छ भन्ने कुरा पनि हेर्नुपर्ने बताए। 

नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन राज्यले कुनै कसर बाँकी राख्न नहुने भन्दै अध्यक्ष दाहालले मानव अधिकारको सुनिश्चित गर्ने जिम्मेवारी राज्यको भएको बताए।

सो अवसरमा दाहालले राष्ट्रिय सभा अध्यक्ष हुनुको नाताले आफूले ऐन कानुन निर्माण, सरकार र सरोकारवाला निकायसँगको समन्वय एवं संघीय संसद्सँग सम्बन्धित विषयहरूमा पहलकदमी लिन र सहयोग गर्न प्रतिबद्ध रहेको बताए। 

सुझावित समाचार