आँखा जुधाउने पो बानी रहेछ तिम्रो
मान्छे भुलाउने पो बानी रहेछ तिम्रो ।
गजलकार घनेन्द्र ओझाका यी शेर संगीतकार सन्तोष श्रेष्ठले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो । विशिष्ट साधक, स्रष्टाहरूको उपस्थितिमा शनिबार सम्पन्न मुशायरामा अर्का गजलकार तथा गायक लालकाजी श्रेष्ठ गुन्जिए आँचलकुमार शर्माका यी शब्दमार्फत :
कुवा हुन्थ्यो र जल कंचन हुने गर्थ्यो कुनै वेला
कुवामै जूनको मापन हुने गर्थ्यो कुनै वेला ।
नेपाल गजल प्रतिष्ठानको आयोजनामा शनिबार ‘पलेँटी गजल मुशायरा’ सम्पन्न भएको छ । मुशायरामा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठले ४-४ वटा गजल गाए ।
गजलकार भोजराज घिमिरेका गजलमा प्राण दिँदै सन्तोष यसरी गुन्जिए:
जिन्दगीमा आफ्नो नआएर जान्छु
यो लहडको बस्ती जलाएर जान्छु ।
कार्यक्रममा लालकाजीले गजलकार राधा कणेलका शब्दलाई न्याय गरे:
आज मौसम अचानक मात्तिएको छ
कुन्नि केको नशा उसले पिएको छ ।
कार्यक्रममा गायक आफैंले हारमोनियम नचाए भने गीतारमा राजकुमार समाल, तबलामा रोशन फुँयाल र बाँसुरीमा धनबहादुर गुरुङले साथ दिए।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रिएसनको सहकार्य रहेको कार्यक्रममा अग्रज गजलकारहरू ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, करुण थापाको उपस्थिति थियो भने अग्रज स्रष्टाहरू डा. विमल कोइराला, एस. पी. कोइराला, चूडामणि देवकोटा, केशव भट्टराईलगायतको सहभागिता थियो।
प्रसिद्ध गीतकार, समालोचक प्रा. डा. कृष्णहरि बरालले नेपाली गजल गायनमा यस्ता कार्यक्रमले खुसी थप्ने बताए। गजलकार ज्ञानुवाकर पौडेलले गजललाई गायनमा ल्याउने प्रयासको सराहना गरे।