पछिल्लो समयमा निकै लोकिप्रय खेलको रूपमा रहेको क्रिकेट खेलमा महिलालाई आकर्षण गर्नका लागि बागलुङमा ‘महिला क्रिओ फेस्टिबल’को आयोजना गरिएको छ। नेपाल क्रिकेट संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका, क्यान नेपाल क्यान गण्डकीलगायतका संस्थाको सहयोगमा बागलुङमा छात्राहरूका लागि लक्षित गरी महिला क्रिओ उत्सव’ सुरु गरिएको छ।
नेपालमा पनि क्रिकेटको मोह बढ्दै गएको र महिला खेलाडीको संख्या कम भएको वेलामा विद्यार्थी समयदेखि नै खेलप्रति आर्कषण गर्नका निम्ति फेस्टिबलको आयोजना गरिएको क्यान बागलुङका अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए। दुई दिनसम्म सञ्चालन हुने उत्सवमा क्रिकेट क्षेत्रमा छात्राहरूको चाहना बढाउने, खेलबारे जानकारी दिने र आवश्यक प्रशिक्षणसमेत गराउने कार्यक्रम रहेको आचार्यले बताए।
क्रिओ उत्सवमा जिल्लाका २१ विद्यालयमा अध्ययन गर्ने झन्डै २ सय छात्राहरू सहभागी भएका छन्। ती छात्राहरूलाई आवश्यक तालिम दिएपछि भोलिका दिनमा देशले क्रिकेट क्षेत्रमा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने क्यान बागलुङका सचिव फणिन्द्र खड्काले जानकारी दिए। पहिलो चरणमा क्यानले बागलुङ नगरपालिकाभित्रका २१ विद्यालयमा अध्ययन गर्ने छात्रालाई उत्सवमा सहभागी गराएको छ।
पछिल्लो समय बढिरहेको क्रिकेट मोहलाई थप जागृत गराउने र खेलमा आउन चाहने छात्रालाई व्यवस्थापन गर्ने लक्ष्यले यो उत्सव सञ्चालन गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन्। उत्सवको उद्घाटन गर्दै उनले खेल क्षेत्रमा बढ्दो आर्कषणलाई संस्थागत गर्न पहल भएको बताए।
श्रेष्ठले नगर क्षेत्रमा हुने खेलमा नगरले पनि आवश्यक सहयोग गर्ने भन्दै राज्यले पनि खेलमा लगानी बढाउन सकेमा युवाहरूको आर्कषण बढ्ने बताए। त्यसबाट छात्रा खेलाडीले आत्मरक्षा गर्न सक्ने, खेलबाट महत्त्वपूर्ण उपलब्धि हासिल गरेर देशको नाम राख्न सक्ने र युवा रोजगारी बढ्ने बताए। दुई दिनसम्म सञ्चालन हुने फेस्टिबलमा क्रिकेटसम्बन्धी जानकारीका साथै अन्य मनोरञ्जानात्मक कार्यक्रमहरू सञ्चालन हुने क्यान बागलुङले जनाएको छ।