वायुसेवा, सञ्चार र बिमाबाट पौने १० अर्ब भ्याट दाखिला

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

हवाई उडानमा भएको सुधारले यो वर्ष २६ अर्ब ३५ करोड उठाउने लक्ष्य, चार महिनामै लक्ष्यको ३७.१३ प्रतिशत संकलन 

हवाई उडानको चाप बढ्दा उड्डयन क्षेत्रबाट सरकारले पाउने राजस्वमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक)मा वायुसेवा, सञ्चार र बिमा क्षेत्रबाट नौ अर्ब ७९ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला भएको आन्तरिक राजस्व विभागले जनाएको छ । 

साउनदेखि कात्तिकसम्म संकलित कुल भ्याट रकममा उड्डयन क्षेत्रको योगदानको वृद्धिदर सबैभन्दा बढी भएको विभागले जनाएको छ । वायुसेवा कम्पनीले हवाई टिकट बिक्री गरेबापत भ्याट बुझाएका हुन् । पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानतर्फ यात्रुको संख्या बढेकाले भ्याटमा यस क्षेत्रको योगदानमा पनि वृद्धि भएको हो ।

गत आव ०८०/८१ को पहिलो चार महिनामा हवाई, सञ्चार र बिमा क्षेत्रबाट चार अर्ब ८६ करोड ९२ लाख रुपैयाँ भ्याट संकलन भएको थियो । यो कुल भ्याट संकलनमा १४.२० प्रतिशत मात्रै हिस्सा थियो ।  

गत आवमा यस क्षेत्रबाट २३ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको विभागले जनाकारी दिएको छ । यो वर्ष २६ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ भ्याट उठाउने लक्ष्य लिइएको छ । लक्ष्यको ३७.१३ प्रतिशत भ्याट चार महिनामै उठिसकेको छ ।

चिनियाँ एयरलाइन्सको करिब चार अर्ब बक्यौता
अन्तर्राष्ट्रिय उडान गर्ने चिनियाँ एयरलाइन्सले भने भ्याट नतिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । सरकारले हवाई क्षेत्रमा भ्याट लागू गरेपछि चिनियाँ दूतावासबाट नै यो व्यवस्था लागू नगर्न दबाब आएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । विभाग स्रोतअनुसार हाल चिनियाँ एयरलाइन्सहरूले करिब चार अर्ब रुपैयाँ तिर्न बाँकी देखिन्छ । ‘सुरुवाती चरणमा अरू विमान कम्पनीहरूले पनि भ्याट लागू नगर्न सामूहिक पहल गरेका थिए । तर, ठुला वायुसेवा कम्पनीहरूले धमाधम तिर्न थालेपछि अरू कम्पनीहरूले पनि क्रमशः तिर्न थालेका हुन्,’ अर्थका एक अधिकारीले भने । 

हवाई क्षेत्रको बढ्दो चहलपहल
नेपालको विमानस्थल हुँदै बिदेसिँदा र आन्तरिक उडानका हवाई टिकटमा भ्याट तिर्नुपर्ने व्यवस्था छ । अध्यागमन विभागअनुसार सन् २०२४ को अगस्टसम्ममा नेपालबाट वैधानिक मार्ग हुँदै दुई लाख ११ हजार नौ सय २१ जनाले विदेश प्रस्थान गरेका छन् । यस्तै, ०२४ को अक्टोबरसम्ममा १४ हजार ३८ पटक विमान विदेशतर्फ प्रस्थान गरेको त्रिभुवन विमानस्थलको तथ्यांकले देखाएको छ । जसमा २१ लाख ६६ हजार पाँच सय ८९ जना यात्रुले उडान गरेका छन् । 

सुझावित समाचार