दोस्रो मुसीकोट महोत्सव हुँदै : महोत्सवमार्फत कृषि र पर्यटन प्रवर्द्धनमा जोड

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

प्रथम मुसीकोट महोत्सव भएको पाँच वर्षपछि दोस्रो महोत्सवको सञ्चालन हुने भएको छ । गुल्मी मुसीकोट उद्योग वाणिज्य संघको आयोजनामा पुस १२ देखि २१ गतेसम्म वामीमा ‘दोस्रो मुसीकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव ०८१’ आयोजना गरिएको हो ।

‘कृषि, पर्यटन, उद्योग र व्यापार  मुसीकोट नगरपालिकाको समृद्धिको आधार’ महोत्सवको मूल नारा रहेको छ । महोत्सवमा कृषिजन्य उत्पादनको प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरूको प्रदर्शनी, विद्यालयस्तरीय शैक्षिक सामग्री प्रदर्शनी, खुला पुरुष भलिबल प्रतियोगिता मुख्य आकर्षणको रूपमा रहेको गुल्मी मुसीकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिए ।

 स्थानीय झाँकी प्रदर्शनी, मुसीकोट लोकगायन तथा आइडल, बाल उद्यान, मुसीकोटभित्रका विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक सम्पदाहरूको प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवको रहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।

अघिल्लो महोत्सवको समेत अनुभव आफूहरूसँग भएकाले व्यवस्थित रूपमा अगाडि बढ्ने वाणिज्य संघका अध्यक्ष खरेलले बताए । उनले स्थानीय व्यापारीहरूको ऊर्जाकै निम्ति महोत्सव आयोजना गरिएकाले समन्वय र सहकार्यमार्फत सबैको सहयोग आवश्यक रहेको बताए ।

मुसीकोट नगरपालिकाकै संरक्षकत्वमा महोत्सवको आयोजना गरिएको छ । मेयर जीवन खरेलले महोत्सवका लागि आफूहरूको तर्फबाट सबैखाले सहयोग र सदभाव रहने बताए । कृषि र पर्यटकीय सम्भावना बोकेको मुसीकोट नगरपालिकामा आयोजना गरिएको महोत्सवमा आँपचौरको कफी, अर्लाङकोटको सुन्तला र मालारानीको महको विशेष प्रदर्शन हुने वाणिज्य संघका महासचिव सुन्दर प्रधानले जानकारी दिए । महोत्सवमा एक सयभन्दा बढी स्टल रहनेछन् ।

कृषि प्रदर्शनीका लागि १०, घरेलु तथा साना उद्योगका लागि १० र महिला उद्यमीका लागि पाँच निःशुल्क स्टलसहित मुसीकोटभित्रका व्यवसायीरूका लागि १५ प्रतिशत छुट दिएर स्टल व्यवस्थापन गरिएको गुल्मी मुसीकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानहरि सापकोटाले जानकारी दिए । 

महोत्सवमा करिब ५० लाखको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । महोत्सव सञ्चालनका लागि मूल समारोह समितिसहित १४ उपसमिति गठन गरिने भएको छ । जसका लागि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरू र कर्मचारी, व्यापारी, समाजसेवीहरूसँग सहकार्य भइरहेको प्रचारप्रसार समिति संयोजक वसन्त अधिकारीले जानकारी दिए । उनले मेला अवधिभर करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षासहित प्रचारप्रसारलाई तीव्रता दिएको बताए ।

सुझावित समाचार