फेरि अस्तव्यस्त बन्दै उपत्यकाका सडक

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

तीनकुनेदेखि एयरपोर्टसम्मको सडक १५ दिनअघिसम्म चिल्लो थियो । सडकको दायाँबायाँ कुनै अवरोध थिएन । तर, हिजोआज तीनकुने चोक हुँदै एयरपोर्टतर्फ मोडिँदा ठाउँ–ठाउँमा खाल्डाखुल्डी मात्र छैनन्, धुलोले हिँडिसाध्य छैन । नेपाल विद्युत् प्राधिकरणले तीनकुने–गैह्रीगाउँ क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने क्रममा सडक खनेर छाड्दा अस्तव्यस्त भएको हो।

सिनामंगल चोकनजिकै पनि मेलम्ची खानेपानी आयोजना निर्देशनालय (पिआइडी)ले सडक खनेर अलपत्र छाडेको छ । उक्त स्थानबाट निस्केको धुलो सवारी साधनले उडाउँदा पदयात्रीसहित आसपासका घरसमेत धुलाम्य हुने गरेका छन् । 

चाबहिल–चुच्चेपाटी हुँदै महाकाल–कपन निस्कने सडक पनि खनेर अलपत्र छाडिएको छ । ढलको मंगालवरिपरि खनेर त्यसै छाड्दा यस क्षेत्रमा बिहानैदेखि सवारी जाम हुने गरेको स्थानीयको भनाइ छ । काठमाडौं महानगरपालिकाले ढल व्यवस्थापनका लागि उक्त सडक भत्काएको हो । 
चाबहिल चोकमा खानेपानीको पाइप फुटेको भन्दै केही दिनअघि सडक भत्काएर कालोपत्रे नगरी पुरेर मात्रै छाडिएको छ । कालोपत्रे नगर्दा चाबहिल चोक हिलाम्य र धुलाम्य बनेको छ । 

केही दिनयता काठमाडौं उपत्यकाका धेरै ठाउँका सडकखण्ड खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेका छन् । तीनकुने–एयरपोर्ट, बागमती करिडोर, त्रिपुरेश्वर क्षेत्र, चाबहिल, वसुन्धरालगायत सडक धुलो र खाल्डाखुल्डीले अस्तव्यस्त बन्ने गरेका छन् । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि बिहान पाँच बजेदेखि नै चारवटा बु्रमर चलाए पनि कम हुन सकेको छैन । 

विद्युत् प्राधिकरण र मेलम्ची खानेपानीले हैरान पारिसके : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्राधिकरण, खानेपानी आयोजनालगायतले लापरबाही गर्दा महानगरका सडक अस्तव्यस्त बनेको बताए । ‘हामीलाई प्राधिकरण र मेलम्चीले दिनुसम्म दुःख दिइरहेका छन्, केहीले पाइप फुट्यो भन्छन्, कहिले मर्मत भन्छन्, कहिले तार भूमिगत भन्छन्, हैरान भइसक्यौँ,’ उनले भने, ‘जरीवाना तिराउँदा पनि अन्य सरकारी निकायले टेरेको अवस्था छैन ।’ उनका अनुसार पछिल्लो समय सबैभन्दा बढी धुलो प्राधिकरणको तार भूमिगतबाट भइरहेको छ । महानगरपालिकाले कुनै पनि खाली ठाउँमा पार्किङ नगर्न र धुलो उडाउने गरी काम नगर्न अन्य निकायलाई दबाब दिए पनि ती निकायले अटेरी गरेको नगरप्रहरी प्रमुख पाण्डेले बताए । उनका अनुसार हाल उपत्यकामा सबैभन्दा बढी धुलो महारागन्ज–वसुन्धरा सडकमा छ ।

खानेपानी र प्राधिकरणले संयम अपनाएनन् :सडक विभाग
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि खानेपानीको पाइप फुट्दा र विद्युत्को तार भूमिगतसम्बन्धी काम भइरहेकाले सडक अस्तव्यस्त बनेको बताए । ‘जहाँ–जहाँ सडक अस्तव्यस्त छन्, त्यहाँ प्राधिकरण र खानेपानीकै कारण हो, अहिले धेरै सडक भत्काइएको छ, तर त्यो सडक बनाउने जिम्मा पनि प्राधिकरण वा जुन निकायले खनेको छ उसैको हो,’ उनले भने, ‘सडक अस्तव्यस्त हुने भएकै कारण हामीले तार भूमिगतमा कडाइ गरेका थियौँ, तर प्राधिकरणले संयम अपनाएन, अहिले सडक धुलाम्य र खाल्डाखुल्डीमय बनेका छन् ।’ 

सडक अस्तव्यस्त पार्ने आयोजनाको धरौटी जफत गर्छौं : प्राधिकरण
विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आयोजनाले सर्तअनुसार काम नगर्दा विद्युतीय तार भूमिगत गर्दा सडक अस्तव्यस्त भएको स्वीकार गरे । उनका अनुसार उपत्यकाभित्र ६ वटा आयोजनाअन्तर्गत तार भूमिगत भइरहेको छ । सडक खनेर कालोपत्रे गर्दा झाराटारी गरेको भेटिए आयोजनाको धरौटी जफत गरिने उनले बताए । ‘हामीले पटक–पटक आयोजनाहरूलाई सडक अस्तव्यस्त नपारी काम गर्न निर्देशन दिएका छौँ, तर त्रुटि धेरै देखिएका छन्, काम सकेपछि सडकका खाल्डा राम्ररी पुरेको पाइएको छैन,’ उनले भने, ‘सडक अस्तव्यस्त पार्ने आयोजनाको धरौटी जफत हुने अवस्था पनि हुन सक्छ ।’ उनका अनुसार तार भूमिगतसम्बन्धी काम गर्दा ध्यान नदिएकाले उपत्यकाका सडक धुलाम्य बनेका छन् । जाडोयाममा धुलोका कारण उपत्यकामा प्रदूषण बढेको छ । उपत्यकाभित्र मुख्य त तीनकुने क्षेत्र, त्रिपुरेश्वर–वीर अस्पताल क्षेत्रमा तार भूमिगतसम्बन्धी काम भइरहेको छ । 

आयोजनाले काम सकेपछि सडक अस्तव्यस्त छाडेको भन्दै जहाँ जुन आयोजनाले काम गरेको हो, त्यहाँ उक्त आयोजनाको ठेगाना र इन्जिनियरको फोन नम्बरसहितको बोर्ड राख्न प्राधिकरणले निर्देशन दिएको छ । काठमाडौं उपत्यकाभित्र भक्तपुर–ललितपुर १३२ केभी आयोजना, ललितपुर चोभार–पाटन–चापागाउँ १३२ भेमी आयोजना, काठमाडौं उपत्यका केन्द्रीय तथा उत्तर भेग वितरण प्रणाली आयोजना, काठमाडौं उपत्यका पूर्व र दक्षिण आयोजना, काठमाडौं उपत्यका पश्चिम आयोजना र काठमाडौं ललितपुर आयोजनाअन्तर्गत काम भइरहेको छ । यी सबै आयोजनालाई प्राधिकरणले समयमै काम सक्न र सडक कालोपत्रे गर्न निर्देशन दिएको छ । 

महानगरले जरिवाना तिराए पनि अटेरी 
पछिल्लो समय उपत्यकाका सबैभन्दा खराब सडक काठमाडौं महानगरपालिकाभित्रै छ । सडकसँग सम्बन्धित अन्य निकायले सडक अस्तव्यस्त पारेपछि त्यसको टाउको दुखाइ काठमाडौं महानगरपालिकालाई छ । महानगरपालिकाले सडक अस्तव्यस्त र खाल्डाखुल्डी पारेको भन्दै सडक विभाग, विद्युत् प्राधिकरण र खानेपानीलाई साउनयता ६ लाख पचास हजार जरिवाना तिराएको छ । तर, पनि सरकारी निकायले यसबारे चासो नदिएको महानगरका नगर प्रहरी प्रमुख पाण्डेले बताए । ‘हामीले नगर प्रहरी खटाएर सडक बिगार्ने निकायलाई जरिवाना तिराइरहेका छौँ, तर कसैले टेर्दैनन्,’ उनले भने । 

सम्झौताको बेवास्ता गर्दै आयोजना
नेपाल विद्युत् प्राधिकरण, काठमाडौं र ललितपुर महानगरपालिका, सडक विभाग र आयोजनाबिच ०७६ मा भएको सम्झौताअनुसार आयोजनाले जहाँ–जहाँ सडक खन्छ, त्यहाँ काम सकिएपछि तत्काल कालोपत्रे गर्नैपर्छ । तर, उपत्यकाका अधिकांश ठाउँमा तार भूमिगत गर्दा आयोजनाले मनपरी रूपमा सडक भत्काएर अलपत्र छाड्ने गरेका छन् । कतिपय ठाउँमा खाल्डा टाले पनि झाराटारी मात्रै छ । 

अभियन्ता पाण्डे र दर्शनाले गराए महानगरको ध्यानाकर्षण 
विवेकशील साझा पार्टीका नेता तथा अभियन्ता मिलन पाण्डेले काठमाडौं महानगरका सडक अस्तव्यस्त बनेकोमा ध्यानाकर्षण गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरलाई सडक खाल्डाखुल्डी र जोखिम हटाउन सुझाब दिएका छन् । ‘हामी काठमाडौं महानगरको कामको प्रशंसक नै हौँ, मैले महानगरका साथीलाई भेटमा वा सामाजिक सञ्जालमार्फत उहाँहरूको राम्रा कामको तारिफ गरेको छु,’ पाण्डेले फेसबुकमा लेखेका छन्, ‘आज गौशालाबाट तीनकुने हिँडेर आउँदै गर्दा एयरपोर्ट गेटको दायाँबायाँ दुवैतिर ८–१० ठाउँमै खाल्टा थिए, गत वर्ष मात्रै एउटा दुर्घटनामा परेर लामो समय अस्पताल र बेडमा परेकाले होला मलाई यो दृश्यबाट निकै डर लाग्यो, नरमाइलो लाग्यो, झन् पर्यटक नेपाल ओर्लनेबित्तिकैको गेटैमा यस्तो देख्दा कस्तो इम्प्रेसन पर्ला ?’ 

विवेकशील साझाकै नेतृ रञ्जु दर्शनाले पनि काठमाडौंका सडक सुरक्षित नभएको बताएकी छन् । ‘काठमाडौंका भित्री बाहिरी कुनै पनि सडक सुरक्षित छैनन्, स्थानीय तहको जिम्मेवारीमा हुने भित्री सडकको स्थिति हरेक वर्ष बिग्रनु एकदम आपत्तिजनक र खेदपूर्ण पनि छ,’ उनले फेसबुकका लेखेकी छन्, ‘यति भनेकाले गाली गर्नेले गरून्, हरेक दिन हिँड्नेले मात्रै पीडा महसुस गर्छ ।’
 

सुझावित समाचार