सत्ता छाडेको तीन वर्षसम्मको मौनता त्याग्दै अहिले सम्भवतः आफ्नो धर्मराउँदो बिरासत जोगाउने सोचका साथ मर्केल आफ्नो राजनीतिक संस्मरणको प्रचारमा निस्किएकी छिन्।
सन् २०२१ डिसेम्बरमा १६ वर्ष लामो शासनपछि एन्जेला मर्केलले जर्मन चान्सलर पदबाट राजीनामा दिइन् । अहिले पनि धेरैले उनलाई एक्काइसौँ शताब्दीकी महान् राजनीतिज्ञमध्ये एक भएको दाबी गर्छन् । सत्ता छाडेको तीन वर्षसम्मको मौनता त्याग्दै अहिले सम्भवतः आफ्नो धर्मराउँदो बिरासत जोगाउने सोचका साथ मर्केल आफ्नो राजनीतिक संस्मरणको प्रचारमा निस्किएकी छिन् । खासमा उनी अहिले आएर यसरी मुखर हुनुभन्दा मौन नै रहेको भए ठिक हुने थियो ।
संस्मरण बजारमा आउनुपूर्व उनले आफ्नो पहिलो अन्तर्वार्ता जर्मन साप्ताहिक ‘डेर स्पिगल’लाई दिइन् । त्यसमा उनी आफ्नो शासनकालका लिएका प्रमुख नीतिहरूको प्रतिरक्षामा उत्रिइन् । ती त्यस्ता नीति थिए, जसले जर्मनी र युरोपलाई आकार दिन मद्दत गरे । उनले प्रतिरक्षा गरेका नीतिमध्ये एक रुसलाई नचिढ्याउने र खुसी तुल्याउने पनि थियो, जुन ‘व्यापारमार्फत परिवर्तन’ भन्ने शीतयुद्धकालीन सिद्धान्तमा आधारित थियो । त्यस्तै उनले सन् २०१५ मा दश लाखभन्दा बढी शरणार्थी (जसमध्ये अधिकांश सिरिया र मध्यपूर्वका थिए) लाई स्वागत गर्ने नीतिको पनि प्रतिरक्षा गरिन् । र, जर्मनीको आणविक ऊर्जा संयन्त्र बिस्तारै बन्द गर्ने नीतिबारे पनि बोलिन् ।
उनले प्रतिरक्षा गरेको चौथो मुद्दा खासमा नीतिभन्दा पनि नीतिको अभाव सम्बन्धमा थियो । जर्मन अर्थतन्त्रलाई यस शताब्दीको प्राविधिक चुनौतीअनुकूल बनाउन मर्केलले केही गरिनन् । यस असफलताका कारण अहिले देशले दुःख पाइरहेको छ । जर्मनीको डिजिटलाइजेसन हाल यति न्यून छ कि आमनागरिकको इन्टरनेट पहुँच लज्जास्पद रूपमा कमजोर छ । अनावश्यक रूपमा बढेको नोकरशाही अहिले पनि फ्याक्स मेसिनको प्रयोग गर्छ । र, कुनै समयको प्रभुत्वशाली उद्योग व्यवसाय अहिले आफ्ना अमेरिकी र एसियाली समकक्षीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । जर्मन राजमार्ग र पुल जर्जर अवस्थामा छन् । रेल प्रायः ढिलो चल्छन् । अहिले देशका प्रमुख पूर्वाधार परियोजनाहरू (जस्तै बर्लिनको रेल स्टेसन र एयरपोर्ट) निर्माण गर्न पोल्यान्डको अझ रोमानियाको तुलनामा दुई वा तीन गुणा बढी समय लाग्न थालेको छ ।
कुनै समय जर्मनहरू पोल (पोल्यान्डका नागरिक)लाई मूर्ख र अयोग्य भनेर हियाउने गर्थे । अहिले परिस्थिति उल्टिएको छ । हिजोआज जर्मनीको भ्रमण गर्नेले आफ्नो क्रेडिट कार्डबाट खाजाको पैसा पनि तिर्न सक्दैनन् । पैसाका लागि एटिएममा दौडनुपर्ने हुन्छ । त्यो पनि बिग्रिएको पाउने सम्भावना उच्च छ । तपाईं पुग्नुभएको एटिएम मेसिनले काम गरिहाल्यो भने पनि तिनले ‘भिसा’ वा ‘मास्टरकार्ड’ नस्विकार्न सक्छन् (जुन दुईतिहाइ अवस्थामा हुन्छ ) । र, वाइफाई जडानबारे कल्पना पनि नगर्नुस् । त्यहाँको भन्दा राम्रो वाइफाई सेवा बरु रुसी संरक्षित राज्यमा बदलिएको बेलारुसमा पाउनुहुनेछ ।
यसबाहेक, मर्केलले आफ्नो १६ वर्ष लामो शासनकालमा जर्मनीले गर्व गर्ने उद्योगहरू– रसायन, औषधि, कार उद्योगलाई एक्काइसौँ शताब्दीमा अनुकूलन बनाउन केही पनि काम गरिनन् । त्यसको असर अहिले देखिन थालेको छ । त्यसबाहेक जर्मन सेना युरोपेली प्रेसमा नियमित रूपमा उपहासको वस्तु बनेको छ । यदि जर्मनहरू फ्याक्स मेसिनहरूमै रम्न चाहन्छन् र इन्टरनेटबाट टाढै रहन्छन् भने त्यो उनीहरूको कुरा हुन्थ्यो । तर, दुर्भाग्यवश जर्मन सरकारका निर्णयले सम्पूर्ण युरोपलाई प्रभावित बनाउँछ ।
सन् २०१५ मा ठुलो संख्यामा शरणार्थीलाई आश्रय प्रदान गर्ने मर्केलको नीति विवादास्पद बन्यो । तर, उनलाई थाहा हुनुपर्ने हो कि यति ठुलो संख्यामा आप्रवासीलाई शरण दिँदा जर्मनीमा मात्र नभई सम्पूर्ण युरोपभर ‘पपुलिस्ट’ प्रतिक्रिया उत्पन्न हुनेछ भनेर । मर्केल आफ्नो पालामा उदारवादी लोकतान्त्रिक मूल्यको पक्षमा उभिएकी भए पनि उनको नीतिले त्यही मूल्यलाई कमजोर बनाउने बाटो खुलायो । नतिजा आज उदार लोकतन्त्र नै निरन्तर आक्रमणको तारो बनेको छ भने आप्रवासन पनि घटेको छ ।
त्यसैगरी, नर्ड स्ट्रिम र नर्ड स्ट्रिम द्वितीय पाइपलाइन परियोजनामा हठपूर्वक अघि बढाएर मर्केल र अन्य जर्मन नेताले एक खतरनाक तानाशाह(पुटिन)लाई सबल बनाउन सघाए । जर्मनीले सन् २००८ को बुखारेस्ट शिखर सम्मेलनमा, युक्रेन र जर्जियाको नेटो सदस्यताका लागि ‘कार्ययोजना’ प्रस्तावमा रोक लगाएर खासमा रुसलाई ती मुलुकमाथि आक्रमण गर्न निम्तो दिएको थियो । क्रेमलिनले भावी अनिश्चितताको फाइदा उठाउनेछ भन्ने रुसी विदेश नीतिको प्रारम्भिक ज्ञान भएका जोकोहीले भन्न सक्ने अवस्था थियो ।
‘स्पिगल’लाई दिइएको अन्तर्वार्तामा मर्केलले उनका हरेक असफलताको दोष अरूमाथि थोपरिन् । युक्रेन र जर्जियाको नेटो सदस्यताको प्रक्रियाविरुद्ध आफू मात्र नरहेको उनले तर्क दिइन् । तर, के त्यति भनेर उनले माफी पाउँछिन् ? खासमा बाँकी युरोप यस सम्बन्धमा जर्मनीतर्फ हेरिबसेको थियो । यस विषयमामा मर्केलको आवाज अरूको भन्दा बढी महŒवपूर्ण थियो भन्ने उनलाई पनि राम्ररी थाहा हुनुपर्ने हो ।
त्यसैगरी, मर्केलले अझै पनि नर्ड स्ट्रिम एक विशुद्ध आर्थिक परियोजना थियो भन्ने कुरा दोहोर्याइरहेकी छिन् । जबकि त्यस्तो स्पष्ट थिएन । रुसको तुष्टीकरणको पक्षमा तर्क गर्दै उनले पोल्यान्ड र युक्रेनले फाइदा पाइन्जेल तिनको भूमिबाट रुसी ग्यास पाइप जाँदा केही नभनेको बताइरहेकी छिन् । तर, नोर्ड स्ट्रिमलाई पोल्यान्ड र युक्रेनबाट बाइपास गरेर मस्कोमाथिको ती मुलुकको प्रभावलाई घटाइदिइन् । मर्केलले पोल्यान्ड वा युक्रेनको सुरक्षाभन्दा सस्तो ग्यासलाई महत्वपूर्ण ठानिन् । अन्तमा, उनको दृष्टिकोणले ऊर्जा संकट निम्त्याएको छ र यो नै अहिले युरोपेली महाद्वीपमा सुरु भएको नयाँ युद्धको कारणमध्ये एक थियो ।
सन् २०११ मा जापानको फुकुसिमा आणविक दुर्घटना भएपछि मर्केलले जर्मनीको आणविक ऊर्जा संयन्त्रहरू चरणबद्ध बन्द गर्ने निर्णय गरिन् । यसले जर्मन अर्थतन्त्रलाई रुसी तेल र ग्यासमाथि थप निर्भर बनाएर रुसलाई सशक्त बनायो । सन् २००६ को सुरुमा पोल्यान्डका तत्कालीन रक्षामन्त्री राडेक सिकोर्सकीले नोर्ड स्ट्रिम परियोजनालाई ‘मोलोटोभ–रिबेनट्रोप प्याक्ट (हिटलर र स्टालिनबिच एक–अर्कामाथि आक्रमण नगर्ने सन् १९३९ को गोप्य सम्झौता)’सँग तुलना गरेका थिए । त्यसको पाँच वर्षपछि, उनले पोल्यान्ड र युरोपका लागि जर्मनीको शक्तिबाट भन्दा यसको निष्क्रियताबाट धेरै खतरा रहेको चेतावनी दिइरहे ।
तर, मर्केलले यी चेतावनी बेवास्ता गरिरहिन् । उनको आफ्नो लामो शासनकालमा जर्मनीले सस्तो रुसी ऊर्जाको लागि पूर्वी युरोपेली सुरक्षालाई तिलाञ्जली दियो । त्यस्तै उनको शासनकालमा नवीकरणीय–ऊर्जा स्रोतमाथिको लगानी परित्याग गरियो । अहिले आएर उनकै शासनकालका असफलताले गर्दा पपुलिस्टहरूले शक्तिशाली मुद्दा हात पारेका छन् । उनले युरोपलाई विदेशी तथा घरेलु दुवै खतराबाट कम सुरक्षित बनाइन् । आज, जर्मनी नेतृत्व संकटमा फसेको समयमा र विश्व नयाँ संकटतर्फ उन्मुख हुँदा मर्केल अघि सारेर आफूले सबै कुरा ठिक गरेकी बताउँदै छिन् ।
स्लावोमिर सिइराकोवस्की क्रिटिका पोलिटिस्ज्ना मुभमेन्टकी संस्थापक हुन् ।
प्रोजेक्ट सिन्डिकेटबाट