भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो।
आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केबल (तार) बिछ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी छ। सहिदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए। निर्माण कार्य तीव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ।
जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम जारी छ। डिभाइस र फाउन्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उनले बताए। अन्य कामलाई तीव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ।
सुवेदीले भने, ‘निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै १० महिनाको समय थप गरिएको छ।’ सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो।
पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत गर्दै लगिने उनले जानकारी दिए। उनले भने, ‘बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ।’
केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए।
उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु. एक अर्ब ४० करोड लागत लाग्नेछ। सुरुवाती समयमा रु. एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो।