विभिन्न देशबाट नेपालमा आएर बसेका शरणार्थी र नेपाली युवाहरूलाई सीपमूलक तालिम प्रदान गरिएको छ । इन्टरनेसनल लेबर अर्गनाइजेसन (आइएलओ) को आर्थिक सहयोगमा एक्सन फर डेभलपमेन्टले चाबहिल र सुनाकोठीमा पाँचदिने तालिम प्रदान गरेको हो।
तालिमबाट सहभागीहरूले व्यवसाय सञ्चालन र व्यवस्थापन, फुड सर्भिस, कार्यस्थलको सुरक्षा, उद्यमशीलतालगायतबारे ज्ञान हासिल गरेको एक्सन फर डेभलपमेन्टका कार्यक्रम व्यवस्थापन चुरामणि खनालले जानकारी दिए ।
‘यस्तो तालिमले उनीहरूलाई रोजगार बनाउँछ, खाली बसेकाहरू तालिमपछि विभिन्न सीपमूलक काममा लाग्न सकून् र आफ्नो दैनिक जीवन सहज पारून् भन्ने उद्देश्यले तालिम आयोजना गरेका हौँ,’ खनालले भने, ‘शरणार्थीको रूपमा रहेकाहरूमा सीप तथा तालिमको अनुभव नहुँदा बेरोजगार बसिरहेका छन्, तालिमपछि केहीलाई काममा लाग्ने सहज हुनेछ ।’
तालिममा सहभागी रोहिंग्या शरणार्थी तोसिम्नारा बेगमले तालिमपछि आफूलाई काममा लाग्न सहज हुने बताइन् । ‘यो तालिम हाम्रा लागि फलदायी भएको छ, अब आफैँले व्यवसाय सञ्चालन वा तालिम लिएको क्षेत्रमा काम पाउन सजिलो हुनेछ,’ उनले भनिन् ।