उपनिर्वाचनको परिणामलाई एमालेले कसरी हेरेको छ ?
विभिन्न कारणले रिक्त भएका स्थानीय तहका ४४ स्थानमा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतदाताले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नुभयो । यसलाई स्वाभाविक रूपमा राम्रो मान्नुपर्छ । जहाँसम्म परिणामको प्रश्न छ, विगतमा हामीले जितेर विभिन्न कारणले रिक्त हुन पुगेका सिटभन्दा त बढी नै स्थानमा जित्यौँ । तर पनि, हामीले अपेक्षा गरेअनुसारका सिट भने जित्न सकेनौँ । यसमा सायद पार्टीको तयारी पुगेन । चुनावी ट्याक्टिसमा रिफर्म गर्नुपर्ने पनि हुन सक्छ । यस विषयमा पार्टीमा छलफल गरेर आगामी दिनका लागि थप तयारी गर्नेछौँ ।
एमालेको जनमत केही खस्केको जस्तो देखिन्छ नि ?
एमालेको समग्र जनमत खस्केको भन्नु गलत हो । हामीले अलि बढी सिटको अपेक्षा गरेका थियौँ । त्यसअनुसार परिणाम आएन भन्ने मात्र हो । तर, पार्टीको जनमत खस्केकै चाहिँ होइन । समग्र मत नै कम खसेका कारण कतिपय स्थानमा हाम्रो मत संख्या घटेको हो । कतिपय स्थानमा त हामीले पहिलेभन्दा बढाएका पनि छौँ ।
निर्वाचन परिणाम ठुला दलका लागि ‘थ्रेट’ हो कि होइन ?
यो परिणाम कत्ति पनि ‘थ्रेट’ होइन । ठुला दललाई डाँडै कटाउँछौँ भन्ने हौवा पिट्नेहरूको हविगत यो उपनिर्वाचनले देखाइदिएको छ । यसले पुराना दलको विकल्प छैन भन्ने मान्यता स्थापित गरेको छ । आफू जनतामाझ अति लोकप्रिय भएको भ्रम पाल्नेहरूको जादु पनि चलेन यसपटकको उपनिर्वाचनमा । उपनिर्वाचनले स्वतन्त्र होइन, दलहरू नै चाहिन्छन् भन्ने स्थापित गरिदिएको छ । साथै, यस उपनिर्वाचनको परिणामले मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुन् भन्ने पनि देखाइदिएको छ ।