नेपालका आरभ सम्राट हाडा र सुनिरा थापा पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जे–३० अन्तर्गत सर्किट १ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेल सकिँदा सिंगल्स गर्ल्स-ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गर्ल्स/ब्वाइजतर्फ क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्।
विजयी यात्रा जारी राखेका हाडाले क्वार्टरफाइनल प्रवेशअघि भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका थिए। अन्य खेलमा जापानका नम्बर १ वरीयताका रिकु हिगासीले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–१ ले, भारतका शौर्य समालाले भारतकै अधिराज ठाकुरलाई ४–६, ६–३, ६–३ ले, चीनका हैनुओ गुओले भारतका अद्वित तिवारीलाई ६–०, ७–५ ले, भारतका आश्रव्य मेहराले भारतकै अमित मुन्डलाई ६–२, ६–२ ले, भारतका ओजस मेहलाबतले चीनका हानबो जुलाई ६–२, ४–६, ७–६ (२) ले र भारतका आदित्य मोरले भारतकै चन्नमल्लिकार्जुन यालेलाई ६–१, ६–३ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भए।
गर्ल्स सिंगल्सतर्फ सुनिरा थापाले चीनकी टियनरान डोङलाई ६–३, ६–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाइन्। अन्य खेलमा भारतका माहिका खन्ना, रित अरोरा, दिसा बेहेरा, अरजान खोराकिवाला, सगुन कुमारी र साइयेट बराडकरसँगै मंगोलियाकी मार्ता छोङसोम्जाभले अन्तिम आठमा स्थान बनाए।
ब्वाइज डबल्सतर्फ भारतका ओजस मेहलाबत र अधिराज ठाकुरको जोडी, आरब चाबला र आश्रव्य मेहराको जोडी, आदित्य मोर र प्रकाश सारणसँगै भारतका प्रवीर मुकेश चावडा र जापानका रिकु हिगासीको जोडीले अन्तिम चारमा स्थान बनाए।
गर्ल्स डबल्सतर्फ भारतकी माहिका खन्ना र एन्जल पटेलको जोडी, नेपालकी स्वस्तिका विष्ट र भारतकी अपरा खंडारेको जोडी, भारतकी दिसा बेहेरा र अरजान खोराकिवालाको जोडीसँगै मंगोलियाकी मार्ता छोङसोम्जाभ र भारतकी साइयेट वराडकरको जोडीले अन्तिम चारमा स्थान पक्का गरे।