अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ।
राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीहरूसहित अर्थ मन्त्रालयमा बुधबार भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए।
लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरूलाई उनले निर्देशनसमेत दिए। राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष ०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुन सकेको छैन।
बैठकमा अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बिमा कम्पनीको साधारणसभा आयोजना गर्ने कुरा भएको छ। बैठकमा महालेखापरीक्षकको कार्यालय, नेपाल बिमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बिमा कम्पनीका पदाधिकारीहरूको उपस्थिति थियो।