२६ अक्टोबरयता जितविहीन साबिक चारपटकको विजेता म्यानचेस्टर सिटी बुधबार नटिंघमविरुद्ध खेल्दै
म्यानचेस्टर सिटी लगातार चारपटकको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली हो । सन् २०२०–२१ देखि प्रिमियर लिगमा एकछत्र राज गरिरहेको सिटी यस सिजन कमजोर बनिरहेको छ । ती चार सिजनमा सिटीले आफ्ना विपक्षीलाई सहजै पाखा लगाउँथ्यो । तर, अहिले लिगमा स्पष्ट तीन अंक बटुल्न सिटी संघर्ष गरिरहेको छ । गत २६ अक्टोबरदेखि सिटी लिगमा जितविहीन छ । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले बुधबार नाटिंघम फोरेस्टविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
तुलनात्मक रूपमा कमजोर मानेको नटिंघमविरुद्ध सिटी जितका लागि प्रयास गर्नेछ । यद्यपि, अंक तालिकामा नटिंघम सिटीभन्दा एक स्थान मात्र तल रहेको छ । लगातार खेल गुमाउँदा सिटीका खेलाडी मात्र नभएर समर्थकसमेत निराश बनेका छन् । अंक तालिकामा अहिले सिटी पाँचौँ स्थानमा झरेको छ । सिटीले १३ खेलमा सात जित निकाली २३ अंक जोडेको छ । लिभरपुलले समान खेलबाट ३४ अंक जोडेको छ । लिभरपुलले ११ जित हात पारेको छ । शीर्ष स्थानको लिभरपुल र सिटीबिच ११ अंकको दूरी छ । गत आइतबार लिभरपुलले सिटीमाथि २–० को जित निकाली शीर्ष स्थानमा अंकको अन्तर बढाएको हो ।
प्रिमियर लिगमा आर्सनल र चेल्सीले समान २५ अंक जोडेका छन् । आश्चर्यजनक रूपमा ब्राइटनले १३ खेलबाट २३ अंक जोडेर चौथो स्थान रक्षा गरेको छ । प्रशिक्षक पेपले खेलाडीको आत्मबल बलियो बनाउन समर्थकबाट सहयोग प्राप्त हुनुपर्ने बताएका छन् ।
एक दशकयताकै प्रिमियर लिगमा खराब प्रदर्शन गरेको सिटीको उपाधि होड जीवित रहेको प्रशिक्षक पेपले बताए । लिगको आधा चरण पनि समाप्त नभएको अवस्थामा समर्थकलाई नआँत्तिन आग्रह उनले गरेका छन् । ‘हामी सबैलाई सिटी कस्तो टोली भन्ने थाहा छ, अझै केही बिग्रेको छैन,’ उपाधि रक्षा हुने विश्वासका साथ पेपले भने, ‘तर, हामीलाई समर्थकको बढीभन्दा बढी न्यानो माया आवश्यकता छ ।’ उनले कहिलेकाहीँ गरिने खेलाडीको गल्तीलाई माफी दिन बताए । ‘खेलाडी पनि मानिस नै हो, उनीहरूबाट गल्ती हुन्छन्, यसलाई तपाईंहरूले माफी दिनुपर्छ,’ पेपले भने ।