‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ आउँदो पुस तेस्रो सातादेखि पोखराको लेखनाथमा २०औँ संस्करणको लेखनाथ महोत्सव हुने भएको छ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना एवं राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा १८ पुसदेखि १ माघसम्म महोत्सव चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवको रहेको संघका अध्यक्षसमेत रहेका महोत्सव मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिए।
स्थानीयसहित स्वदेशी उत्पादनलाई बजारीकरणसँगै उपभोग तथा उत्पादनमा प्रोत्साहन गर्ने, स्वदेशी उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना, आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसमेत महोत्सवको रहेको जानकारी दिँदै श्रेष्ठले २०५८ मा सुन्तला प्रदर्शनीबाट संघले महोत्सव सुरु गरेर त्यसलाई समयानुकूल परिष्कृत गर्दै आएको बताए।
महोत्सवमा ३३६ वटा स्टल रहने संघका महासचिवसमेत रहेकी महोत्सव प्रचारप्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन्। उनका अनुसार अटो प्रदर्शनीका ६, शैक्षिक–ग्रामीण प्रविधिका १२, कृषिका ३६, किचन सामग्रीका २५, मेसिनरीका १०, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेड १०८, जनरल २६, फुड एन्ड बेभरेजका १६, डेरीका नौ, नेपाली उत्पादनका २२, खानाका १७, बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजकअन्तर्गत ३३ स्टल रहनेछन्।
संघका सदस्यहरूलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबारदेखि नै खुला गरिएको जानकारी दिँदै उनले संघका सदस्यलाई स्टलमा २० प्रतिशत छुटसँगै सामान ढुवानीका लागि दुई हजार उपलब्ध गराइने जानकारी दिइन्।