तीव्र गतिका बलरहरू सोहेल तनविर, रिजन ढकाल र इंग्ल्यान्डका २० वर्षीय लक बेन्केन्स्टेइन चम्किएपछि पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमै लज्जास्पद हार व्यहोर्न पुगेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा पोखराले निकै कमजोर प्रदर्शन गर्याे । टोलीले १३.२ ओभरमा अलआउट हुँदा मात्र ७४ रन बनाउन सक्यो ।
चितवनको यो दोस्रो जित हो । यसअघि टोलीले काठमाडौं गुर्खाजलाई हराएको थियो । पोखराले भने हारबाट प्रतियोगिता सुरु गरेको छ । तनविर, रिजन ढकाल र इंग्ल्यान्डका २० वर्षीय लक बेन्केन्स्टेइनले धातक बलिङ गरेपछि पोखराको ब्याटिङक्रम धराशायी भएको थियो । तीनै तीव्र गतिका बलरले तीन विकेट हात पारे ।
तनविरले पहिलो ओभरमै तीन विकेट लिएका थिए । उनले कप्तान कुशल भुर्तेल र नेदरल्यान्ड्सका ब्याटर बास डी लिडेलाई गोल्डेन डकआउट गराए । चार रन बनाएका दिलीप नाथलाई पनि तनविरले दीपक बोहराबाट क्याच गराएका हुन् । काठमाडौं गुर्खाजविरुद्ध पहिलो दिन पाँच विकेट लिएका उनको समग्रमा आठ विकेट पुगेको छ ।
रिजनले समान एक रन बनाएका ओपनर दिनेश खरेल र किरण ठगुन्ना तथा माइकल लिस्कलाई डकआउट गरे । पोखराले ३.६ ओभरमा सात रन जोड्दा महत्त्वपूर्ण ६ विकेट गुमायो । दोस्रो बल लिएर आएका लकले वेस्ट इन्डिजका लागि आठ टेस्ट, ६ एकदिवसीय र तीन टी–२० आई खेलेका रेयमन रेइफरलाई एक रनमा आउट गरे । आठौँ विकेटका लागि मार्क्स क्रिजले र नारायण जोशीले ३० रनको साझेदारी गर्दै टोली सम्हाल्ने प्रयास गरेका थिए ।
१६ बलमा दुई चौकासहित १७ रन बनाएका मार्क्स र २४ बलमा तीन चौका र दुई छक्का सहित ३० रन बनाएका नारायणलाई लकले आउट गराएका थिए । नाै रन बनाएका विपिन खत्रीलाई दीपक बोहराले आउट गरेका हुन् ।
यसअघि चौथो विकेटका लागि रवि बोपरा र कप्तान कुशल मल्लले ६८ रनको बलियो साझेदारी गरेपछि चितवनले मध्यम स्कोर खडा गरेकाे हाे । इंग्ल्यान्डका ३९ वर्षीय अलराउन्डरले ३८ बलमा सर्वाधिक ५१ रन बनाएका हुन् । यसअघि उनले ३६ बलमा समान तीन चौका र छक्कासहित अर्धशतक बनाएका थिए । उनले अर्धशतक बनाउँदा चितवनले १५.१ ओभरमा चार विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।
आइपिएलमा किंग्स ११ पञ्जाव र दिल्ली क्यापिटल्सबाट खेलिसकेका उनले इंग्ल्यान्डका लागि १३ टेस्ट, १२० एकदिवसीय र ३८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मार्टिन गुप्टिल, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरीपछि एनपिएलमा अर्धशतक बनाउने रवि चौथो खेलाडी हुन् ।
त्यस्तै, कप्तान कुशल मल्लले २३ बलमा एक चौका र चार छक्कासहित ३८ रन बनाए । लुक बेन्केनस्टेनले १६ तथा अफगानिस्तानका १८ वर्षीय ओपनर हसन इसाकिलले १४ रन बनाए । ओपनर दीपक बोहरा दुई, सन्तोष कार्कीले ११, पाकिस्तानका साहेल तनविर डकआउट, शरद भेषवाकरले अविजित ११ तथा अमर रौटेलाले अविजित १३ रन बनाएका हुन् ।
पोखरा एभेन्जर्सले विपक्षीविरुद्ध आठ बलर प्रयोग गरेको थियो । विपिन खत्री, नेदरल्यान्ड्सका बास डि लिडे र ३३ वर्षीय वेस्ट इन्डिजका रेयमन रेइफरले समान दुई विकेट हात पारे । सागर ढकालको नाममा एक विकेट रह्यो ।
आज नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो । बुधबार कर्णाली याक्स र काठमाडौं गुर्खाज बिहान तथा विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच दिउँसो खेल हुने तालिका छ ।