कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतककाे मद्दतमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै कीर्तिमानी १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो । विराटनगर प्रतियोगितामा तेहेरो अंकमा रन नबनाउने पहिलो क्लब बनेको छ ।
प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जितबाट महत्त्वपूर्ण दुई अंक जोडेको छ । सन्दीप लामिछाने मार्की र कप्तान रहेको विराटनगरको लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो।
सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङमा आएको विराटनगरको ब्याटिङक्रम नै चल्न सकेन । कुनै पनि खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् । आशा गरिएको विदेशी खेलाडी पनि चलेनन् । त्यसैले विराटनगरले तेहोरो अंकमा रन पनि जोड्न सकेन ।
न्युजिल्यान्डका २८ वर्षीय ब्याटर मार्टिन जेम्स गुप्टिल एनपिएलको दोस्रो खेलमै गोल्डेन डकआउट (पहिलो बलमै) भए । न्युजिल्यान्डबाट सन् २०१५ आइसिसी एकदिवसीय विश्वकपमा वेष्ट इन्डिजविरुद्ध दोहोरो शतक बनाएको कीर्तिमान उनीसँग छ । यसअघि पहिलो खेलमा जनकपुरविरुद्ध उनले ५५ रन बनाएका थिए । उनलाई सुदूरपश्चिमका स्कट गुकुलेइनले तेस्रो बलमै गोल्डेन डकआउट गरेका हुन् । एनपिएल खेल्ने शिखर धवनपछिका दोस्रो ठुलो स्टार हुन् ।
गुप्टिल आउट भएपछि अरू खेलाडी पनि क्रिजमा टिक्न सकेनन् । अर्का ओपनिङ ब्याटर लोकेश बमपछि दुई रन बनाएर आउट भएपछि विराटनगर दबाबमा आयो । निकोलस किर्टन पाँच, राजेश पुलामी मगर, १५, बसिर अहमेद २४, इस्मत आलम, प्रतिश जिसी एक, कप्तान सन्दीप लामिछाने आठ, स्कट १० र क्रिस सोल नाै रनमा आउट भए । अनिल खरेल १० रनमा अविजित रहे ।
बलिङतर्फ स्कट र अभिनाश बोहराले समान सर्वाधिक तीन विकेट लिए । स्कटले चार ओभरमा ३० रन तथा अभिनाशले तीन ओभरमा १७ रन खर्चिए । ब्रान्डन म्याकमुलेन, सैफ जैव र इशान पाण्डेले समान एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले प्रतियोगिताको एकै इनिङ्समा कीर्तिमानी रन बनायो । तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले दुई विकेट गुमाउँदै १४२ रन बनाएको थियो । इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबिच छैटौँ विकेटका लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन १८२ रन बनाउन सफल भयो । दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित सर्वाधिक ५७ रन बनाए । उनी अनिलकुमार शाहपछि अर्धशतक बनाउने नेपाली दोस्रो खेलाडी हुन् । समग्रमा एनपिएलमा चौथो अर्धशतक बनेको छ । छैटौैँ नम्बरमा आएर १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाएका इशान पाण्डेलाई अनिल खरेल र विकेटकिपर लोकेश बमले रनआउट गराए ।
सुदूरपश्चिमका लागि स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलेनले २६ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाए । अनुभवी ओपनिङ ब्याटर विनोद भण्डारीले २० बलमा चार चौकासहित २३ रन जोडे । इंग्ल्यान्डका सेफ जैब १५ बलमा एक छक्कासहित १४ रन बनाएर पेभिलियन फर्किएका थिए । तीनै खेलाडीलाई अनिल खरेलले आउट गरेका थिए । न्युजिल्यान्डका ३२ वर्षीय स्कट कुगेलेइनले १० रन जोडे । यसअघि ओपनर अमित श्रेष्ठ एक रनमै आउट भएपछि सुदूरपश्चिम दबाबमा आएको थियो । आरिफ शेख पनि नाै रनमै आउट भएका थिए ।
कप्तान सन्दीप लामिछाने दोस्रो खेलमा पनि विकेटविहीन रहे । उनले चार ओभरमा ३१ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् । पहिलो खेलमा जनकपुरविरुद्ध चार ओभरमा ३० रन खर्चिँदा पनि विकेटविहीन भएका थिए । विराटनगरका लागि अनिलले चार ओभरमा २६ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिएका थिए । २२ वर्षीय अफगानिस्तानका इस्मत आलम, स्कटल्यान्डका ३० वर्षीय क्रिस सोल र बसिर अहमेदले समान एक विकेट हात पारेका थिए ।
आज नै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ। पोखराको पहिलो खेल हो भने चितवन दोस्रो जितको खोजीमा छ । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराएको थियो ।