अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा भव्य स्वागत गरिएको छ । भारतको अयोध्यामा राम मन्दिर निर्माणपश्चात् पहिलोपटक विवाहपञ्चमीका लागि जन्ती आएका हुन् ।
प्रत्येक पाँच वर्षमा मुख्य जन्ती आउने परम्परा रहेकोमा पछिल्लो वर्ष राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रमको कारण जन्ती पाँच वर्ष पुगे पनि आउन नसकेकोमा यसपटक भने चार सयभन्दा बढी जन्ती आएका छन् । जन्ती नेपालको मटिहानी नाकाबाट प्रवेश गरेका छन्।
लक्ष्मीनारायण मठका मानमहन्थ जगरनाथ दास वैष्णव, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा सुरक्षा निकायका प्रमुखहरू, मटिहानी उद्योग वाणिज्य संघ, प्रमुख शिष्य डा. रवीन्द्र दास वैष्णव र स्थानीय नागरिक समाजले मटिहानी नाकामा पुगेर जन्तीको स्वागत गरेका थिए । जन्तीको स्वागतमा मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मी सागर र मटिहानी नगर दुलही झैँ सजाइएको छ ।
जन्ती आएका वरिष्ठ व्यक्तित्वहरूका लागि मटिहानीस्थित विभिन्न तीन होटेलमा वासको व्यवस्था गरिएको छ भने अन्य जन्तीका लागि लक्ष्मीनारायण मठ र राजकीय संस्कृत माध्यमिक विद्यालयमा वासकाे व्यवस्था मिलाइएको छ ।
यता सबै जन्तीको खाना तथा अन्य व्यवस्थाका लागि समेत लक्ष्मीनारायण मठ, मटिहानी नगरपालिका र स्थानीय नागरिकले समन्वय गरेका छन् । विभिन्न समिति र उपसमिति निर्माण गरी जन्तीको स्वागतको व्यवस्थापन गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख मण्डलले बताए ।
सोमबार मटिहानीमा रात्रिवास बसेका जन्ती आज मंगलबार बिहान जलेश्वर हुँदै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । जलेश्वर र पिपरासहित बाटोमा पर्ने प्रायः हरेक पालिका र गाउँ तथा नगरले गच्छेअनुसार जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । यसैगरी, पिपरामा खानाको व्यवस्था गरिएको छ ।
मंसिर १२ गते भारतको अयोध्यास्थित कारसेवक पुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र, हाजीपुर, काँटी, शिवहर, रुन्नी, सैदपुर, पनौराधाम, जानकी मन्दिर, पुपरी, अहिल्या स्थान हुँदै आइतबार भारतको बिहार स्थित बेनीपट्टी आइपुगेका थिए । सोमबार साँझ बेनीपट्टीबाट मधवापुर हुँदै महोत्तरीको मटिहानी आएका जन्ती आज जनकपुर पुग्दै छन् ।