फागुन महिनाभरि पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

आगामी फागुनमा देशभरका दुई लाख ५० हजार महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि परीक्षण गरिने भएको छ । देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो ।

महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रूपमा स्क्रिनिङ थाल्ने योजनाअनुरूप परीक्षण गरिने परिवार स्वास्थ्य कल्याण महाशाखाले जनाएको छ ।

क्यान्सरको उपचारसँगसँगै समयमै परीक्षण गरी रोकथाम गर्ने योजनाअनुरूप अभियानको तयारी गरिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । एक महिनाभित्र दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनको भनाइ छ ।

नेपालमा महिलामा पाठेघरको क्यान्सर मुख्य समस्याको रूपमा देखिँदै आएको छ । हाल नेपालमा हरेक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।

यसैगरी, अब्जर्भेटरीका अनुसार विश्वभर एक लाख रोगीमा सातजनाको ज्यान जाने गरेकामा नेपालमा झन्डै नौजनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर, समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरूले बताउने गरेका छन् ।

सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्जर्भेटरीको तथ्यांकमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।   
 

सुझावित समाचार