नेपाल आयल निगम लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्तिसचिव गोविन्दबहादुर कार्की डिपो भ्रमणमा निस्किएका छन् ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र उपनिर्देशक प्रदीप यादवसहित निस्किएका सचिव कार्कीको टोलीले आइतबार बिहान निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगन्जमा दोस्रो चरणअन्तर्गतको पाइपलाइन परियोजनाको अवलोकन गरेको थियो । त्यस्तै, दिउँसो चितवनको राप्ती नगरपालिकास्थित लोथरमा रहेको नयाँ जग्गाको निरीक्षण गरेको छ ।
लोथरमा अमलेखगन्जदेखि पाइपलाइन विस्तार गर्ने र करिब एक लाख किलोलिटर क्षमताको देशभरमै सबैभन्दा ठुलो इन्धन भण्डारण गृह बनाउने योजना छ । सचिव कार्की नेतृत्वको टोली आज (सोमबार) साँझसम्म भैरहवा पुग्ने गरी सौराहाबाट प्रस्थान गरेको छ ।
रुपन्देहीको रोहिणी नदी किनारमा अहिले नयाँ इन्धन डिपो निर्माणाधीन अवस्थामा छ । २१ बिघा जग्गामा रिटेनिङ पर्खाल निर्माण र जग्गा सम्याउने कार्य भइरहेको निगमले जनाएको छ ।
आयल निगमका कार्यकारी निर्देशक डा. भट्टले नयाँ परियोजनालाई गति दिने मिसनका साथ सचिव कार्कीसहित निरीक्षणमा निस्किएको बताए । वाणिज्य मन्त्रालय आएयता सचिव कार्की पहिलोपटक निगमको परियाेजनाको अवलोकनका लागि निस्किएका हुन् ।
‘कम्पनी अध्यक्षसहितको भ्रमणले परियोजनालाई अघि बढाउन धेरै मद्दत मिल्ने विश्वास छ,’ भ्रमणमा सँगै रहेका निगमका उपनिर्देशक यादवले भने ।
लोथरमा भण्डारण गृह निर्माणका लागि अपुग दुई बिघा १९ कट्ठा १६.९ धुर जग्गा प्राप्ति गर्न मन्त्रिपरिषद्ले स्वीकृतिसमेत दिइसकेको छ । त्यसैले यहाँ अब जग्गा प्राप्तिको काम सकेर चाँडै भण्डारण गृह निर्माण अघि बढाउने निगमको योजना छ ।
मन्त्रिपरिषद्ले जग्गा प्राप्तिका लागि स्वीकृति दिएलगत्तै सचिव कार्कीले स्थलगत अध्ययन थालेपछि परियोजनाले गति लिने विश्वास बढेको निगम अधिकारीहरूको बुझाइ छ ।
अमलेखगन्ज डिपोमा पनि पाइपलाइनबाटै पेट्रोल आयातका लागि सबै पूर्वाधार तयार भइसकेको छ । सचिव कार्कीको निरीक्षणपछि चाँडै उद्घाटन गरेर नियमित रूपमा पाइपलाइनबाट पेट्रोल आयात थालनी गर्ने सल्लाह भएको कार्यकारी निर्देशक भट्टले जानकारी दिए । अमलेखगन्जमा पाँच वर्षअघिबाट पाइपलाइनबाट डिजेल भने नियमित रूपमा आपूर्ति भइरहेको छ ।