कञ्चनपुरको दोधाराचाँदनीमा फेरि बाघले आतंक मच्चाएको छ। चार महिनाअघि एक महिलाको ज्यान लिएको बाघले फेरि अहिले पनि आतंक मच्चाएको हो। सोमबार बिहान बाघले दोधाराचाँदनी नगरपालिका २ सरस्वती टोलका ६३ वर्षीया शेरसिंह साउद वृद्धमाथि आक्रमण गरेको छ।
कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले गाउँकै मायापुरी जंगलमा गाईभैँसी चराउन गएका वेला आक्रमण गरेर घाइते बनाएको बताए। बाघको आक्रमणबाट घाइते भएका साउदको चिउँडो र हातमा गम्भीर घाउ भएको छ।
घाइते साउदको दोधराचाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली अस्पतालमा उपचार भइरहेको छ। घाइते साउदले भाग्यले बाँचेको बताएका छन्। ठिक चार महिनाअघि १७ साउनमा बाघकै आक्रमणबाट दोधाराचाँदनीमा २६ वर्षीया महिलाको मृत्यु भएको थियो। फेरि चार महिनापछि बाघको आक्रमण सुरु भएपछि स्थानीय त्रसित भएका छन्।