गृहमन्त्री लेखकले घटाए ‘भिभिआइपी’ बिदाइ र स्वागतमा पदाधिकारी संख्या

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको संख्या घटेको छ ।

मन्त्रिपरिषदबाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा कार्यान्वयनमा आएको गृह मन्त्रालयले स्पष्ट गरेको छ ।

कार्यविधि संशोधनसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा र आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको संख्या कटौती भएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

‘भिभिआइपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थासम्बन्धी प्रस्ताव चार दिनअघि मात्र संशोधनसहित मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,’ सूचना अधिकारी तामाङले भने,’ भिभिआइपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको हो, सम्माननीय प्रधानमन्त्रीज्यू आज मित्रराष्ट्र चीनतर्फ प्रस्थान गर्नुहुँदा उपस्थिति छरितो देखिएको छ ।’

कार्यविधि संशोधनपछि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा आउँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किँदा उपराष्ट्रपतिसहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

‘अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किँदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ,’ उनले भने,’ सुरक्षा व्यवस्थापन कार्यविधि– २०८०, पहिलो संशोधन भई आजदेखि कार्यान्वयनमा आएको छ ।’

त्यसैगरी, राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको संख्या पनि घटाइएको छ । मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर नौजना पदाधिकारीमा सीमित गरिएको छ ।

सुझावित समाचार