काठमाडौंलाई हराउँदै चितवनको विजयी सुरुवात

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

पाकिस्तानी तीव्र गतिका बलर सोहिल तनविर चम्किएपछि काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराउँदै चितवन राइनाेजले नेपाल प्रिमियर लिग  एनपिएलमा विजयी सुरुवात गरेको छ । 

सोमबार कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले पूरा ओभर खेल्दै नाै विकेट गुमाएर ११२ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाउँदै विजयी सुरुवात गरेको हो । चितवनको जितमा पाकिस्तानका चर्चित खेलाडी तनविरले चार ओभरमा पाँच विकेट लिएका थिए । 
 
चितवनका लागि लक वेनकेनस्टाइनले १७ बलमा एक चौका र दुई छक्कासहित सर्वाधिक २२ रन बनाए । उनलाई गेहार्ड इरास्मसलले एलबिडब्लू धरापमा पारेका थिए । अनुभवी खेलाडी शरद भेषवाकरले २१ बलमा अविजित ११ रन बनाएका थिए । सन्तोष कार्कीेले पनि एक चौका र एक छक्कासहित अविजित ३१ बलमा २८ रन बनाएका हुन् । 

कप्तान कुशल मल्ल र इंग्ल्यान्डका अनुभवी खेलाडी रवि बोपराले समान ११ रन बनाएका हुन् । यसअघि ओपनर हसन इसाखिलले १२ रनको योगदान गरे । यसबाहेक ओपनर दीपक बोहराले एक रन जोडे । 

काठमाडौंका सहाब आलमले सर्वाधिक तीन विकेट हात पारे । नामिबियाका कप्तानसमेत रहेका इरास्मस र इंग्ल्यान्डका डानले समान एक विकेट हात पारेका थिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले पावरप्लेबाटै कमजोर प्रदर्शन गर्याे । पाकिस्तानका तनविरले तीन ओभरमा तीनै विकेट लिएपछि दबाबमा आएको काठमाडौंले पावरप्लेमा चार विकेट गुमाउँदा मात्र ३९ रन बनायो । ओपनर स्टेफन इस्किनाजी दुई तथा माइकल लेभिट २५ रन बनाएर आउट भएका थिए । गेहार्ड इरास्मस चार र भीम सार्कीले एक रन बनाएका हुन् । टोलीले ५.२ ओभरमा चार विकेट गुमाउँदा मात्र ३४ रन जोडेको थियो । 

यसबाहेक काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९, लेभिटले २५, डन डाउथवेटले अविजित १९ र शंकर रानाले १६ रन लिए । रसिद खान चार, कप्तान करण केसीले एक र दीपेश कँडेलले अविजित एक रन मात्रै बनाएका थिए । 

सन् २००८ मा राजस्थानलाई आइपिएल र सन् २००९ मा पाकिस्तानलाई आइसिसी टी–२० विश्वकप उपाधि जिताउँदाका मुख्य खेलाडी तनविर एक्लैले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका उनले २१ रन खर्चिएका हुन् । उनले काठमाडौंका इस्किनाजी, कप्तान करण केसी, शंकर राना र माइकल लेविटलाई आउट गरेका थिए । रिजन ढकाल, कप्तान कुशल मल्ल, अमर रौटेला र लुक बेन्केस्टेइनले समान एक विकेट हात पारे । 

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई आठ विकेटले हराएको थियो । आज हुने दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सको सामना गर्दै छ । यो खेलमा चर्चित खेलाडी भारतीय शिखर धवनले कर्णाली याक्स र न्युजिल्यान्डका जिमी निसमले जनकपुरको प्रतिनिधित्व गर्नेछन् ।

सुझावित समाचार