दुई दिनमा पनि सकिएन रविको बयान

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

सहकारीको पैसा गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आइतबार पनि बयान भएको छ । दुई दिनमा पनि उनको बयान सकिएको छैन । गत बिहीबार पोखराबाट उनलाई काठमाडौं ल्याइएको थियो । शुक्रबार पनि दिनभर बयान भएको थियो । आइतबार नसकिएपछि सोमबार पनि बयान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए । सोही आधारमा उनीविरुद्ध काठमाडौंमा समेत मुद्दा दायर गर्न लागिएको छ । लामिछानेले सो कम्पनीको प्रबन्ध निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् ।

स्वर्णलक्ष्मी सहकारी गितेन्द्रबाबु (जिबी) राईकै समूहले चलाएको थियो । गोर्खा मिडियाका अध्यक्ष पनि राई नै हुन् । उनले विभिन्न पाँच सहकारीको रकम गोर्खा मिडियालगायत विभिन्न कम्पनीमा लगेर दुरुपयोग गरेका थिए । त्यसमा उनका कम्पनीका सञ्चालकहरूलाई समेत हाल प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्ने भूमिकामा रहेको उल्लेख गरेको छ । प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । कास्की र रुपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछानेलाई चितवन लैजाने तयारी भइरहेको छ ।

सुझावित समाचार