दिदीबहिनीको अब नयाँ जिन्दगी...

बाजुराका अनाथ तीन बालिकाको काठमाडौंको ओलिभर पब्लिक सेकेन्डरी स्कुलका सञ्चालक/प्रधानाध्यापक कृष्ण दाहालले लिए अभिभावकत्व

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

९ मंसिरको अंकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा एउटा फोटो समाचार छापिएको थियो, ‘दिदीबहिनी जसका कोही छैनन्...’ । बाजुराको गौमूल गाउँपालिका– ६, सडेडाका १० वर्षीया पविना रोकाया, नौ वर्षीया इसिका रोकाया र ६ वर्षीया सुस्मिता रोकायाको समाचार थियो त्यो । आमा संगीताले भारतमा अर्कैसँग विवाह गरेको र रोजगारीका लागि भारतमै रहेका बुबा भीमबहादुर पनि कोठामै झुन्डिएको अवस्थामा मृत भेटिएपछि तीन दिदीबहिनीको बिल्लीबाठ भएको थियो ।

बिचल्लीमा परेका बालिकाहरूको समाचारले काठमाडौंका कृष्ण दाहालको मुटु चिमोट्यो । उनी तीन दिदीबहिनीको अभिभावकत्व लिने निर्णयमा पुगे । तत्काल नयाँ पत्रिकाको केन्द्रीय कार्यालयमा फोन गरेर आफ्नो इच्छा व्यक्त गरेका दाहालले बाजुरास्थित नयाँ पत्रिका रिपोर्टर गगन अयडी हुँदै स्थानीय तह, जिल्ला   प्रशासनलगायत सबै सम्बन्धित निकायमा गर्नुपर्ने प्रक्रिया पूरा गरे । काठमाडौं चक्रपथस्थित ओलिभर पब्लिक सेकेन्डरी स्कुलका सञ्चालक एवं प्रधानाध्यापक दाहालले शिक्षा, स्वास्थ्य र हेरचाहको जिम्मा लिएपछि तीन दिदीबहिनीको दिन फेरिएको छ ।

निलो स्कुले ड्रेसमा सजिएर उनीहरू आइतबार बिहान १० बजे कक्षाकोठाभित्र छिरे । कक्षामा सबै साथीहरू नौला थिए । नयाँ सहर, नयाँ कक्षाकोठा र नयाँ साथी, उनीहरूका लागि सबै नै नयाँ भयो । शुक्रबार काठमाडौं आइपुगेका उनीहरू आइतबारदेखि विद्यालय जान थालेका हुन् । ‘मलाई राम्रो लागेको छ, खुसी लागेको छ, हामी अब राम्रोसँग पढ्छौँ,’ पविनाले भनिन् । विद्यालयले पविनालाई पाँच, इसिकालाई तीन र सुस्मितालाई दुई कक्षामा भर्ना गरेको छ । उनीहरूलाई स्कुलकै होस्टेलमा बस्ने, खाने सुविधा छ । प्रधानाध्यापक दाहालका अनुसार उनीहरू केही समय भारतमा बसेकाले प्रस्टसँग नेपाली बोल्न जान्दैनन् । तर, बिस्तारै सबै सुधार गर्न सकिने उनले बताए । ‘यो उमेरका बच्चाहरूले सबै कुरा छिटो सिक्छन्, हामी उनीहरूलाई अलि बढी ध्यान दिएर पढाउँछौँ,’ उनले भने, ‘तीनै दिदीबहिनीलाई कक्षा १२ सम्म बढाउने गरी मैले जिम्मा लिएको छु ।’

बुबा–आमा नभएपछि एक्लिएका दिदीबहिनीका नजिकका आफन्त भन्नु नै ठुलोबुबाको परिवार थियो । तर, ठुलोबुबाको परिवारलाई नै गाउँमा हातमुख जोड्न धौधौ भएकाले उनीहरूको पालनपोषण गर्न सक्ने अवस्था थिएन । उनीहरूलाई काठमाडौं पु¥याउन उनै ठुलोबुबा आएका थिए । प्रधानाध्यापक दाहाललाई छोरीहरू जिम्मा लगाएर उनी गाउँ फर्किएका छन् ।

कक्षा एकदेखि १२ सम्म पढाइ हुने ओलिभर स्कुलमा हाल एक सय ६५ विद्यार्थी छन् । पविना, इसिका र सुस्मिताबाहेक अन्य २० बालबालिकालाई पनि स्कुलले निःशुल्क पढाउँदै आएको प्रधानाध्यापक दाहालले बताए ।

सुझावित समाचार