कपिलवस्तुको शुद्धोधन– १ मा एमाले विजयी

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका– १ को अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका– १ को अध्यक्षमा एमालेका उम्मेदवार मोहमद ताहिर मुसलमान एक हजार १५० मत ल्याई निर्वाचित भएका निर्वाचन कार्यालयले जनाएको छ।

एमाले उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे। त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत ल्याउँदा जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१ मत प्राप्त गरे।

निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवार रफी मोहम्मद मुसलमानले १३८ मत ल्याउँदा रास्वपाका अशोककुमार चौधरीले ९२ मत ल्याए। राप्रपा उम्मेदवार इनताज अहमद धोबीले ६६ र नागरिक उन्मुक्तिका उम्मेदवार सूर्यकुमार चौधरी थारूले ३३ मत प्राप्त गरेका छन्।

यो वडा यसअघि नेपाली कांग्रेसले जितेको थियो।

सुझावित समाचार