जाजरकोटको कुशे गाउँपालिका– ७ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा सिंहले ३४७ मत ल्याई विजयी भएको निर्वाचन कार्यालय कुशेका नवीन भट्टले बताए।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत ल्याएका छन्। नेपाली १५ मतले पराजित भएको कार्यालयले जनाएको छ। यस्तै, एमालेका डम्बरबहादुर घर्तीले २५२ मत प्राप्त गरेका छन्। राप्रपाका लालबहादुर खत्रीले सात मत प्राप्त गरेका छन्। कुशे–७ मा कुल एक हजार २०३ मतदातामध्ये ९५६ जनाले मतदान गरेका थिए।
कुल मतमा १५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यता, नलगाड नगरपालिका उपप्रमुख पदको मतगणना सुरु भएको छैन। वडा नं १३ को मतपेटिका ल्याउन ढिलाइ भएको कारण मतगणना ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दल्लीले जनाएको छ। राति अबेर सबै मत केन्द्रको मतपेटिका दल्लीमा ल्याइसकेकोले सर्वदलीय बैठक बस्ने तयारी भएको कार्यालयको भनाइ छ।