चितवनमा समसामयिक गजलवाचन

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

रत्ननगरमा समसामयिक गजलवाचन कार्यक्रम गरिएको छ। गजल मञ्च चितवनसँगको सहकार्यमा रत्ननगर वाङ्मय प्रतिष्ठानले शनिबार समसामयिक गजलवाचन कार्यक्रम आयोजना गरेको हो।

रत्ननगर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा थुप्रै स्रस्टाले गजलवाचन गरेका थिए। पूर्वी चितवनमा पहिलोपटक एउटै कार्यक्रममा धेरै स्रस्टाले गजल सुनाएको कार्यक्रम संयोजक एवं मञ्चका उपाध्यक्ष कमल अर्यालले जानकारी दिए।

मञ्चकी सचिव प्रमिला सानुले सञ्चालन गरेको कार्यक्रमको सुरुवातमा कवि, गजलकार राजेन्द्र घायलले गजल सुनाए। त्यसैगरी, गिरिराज डल्लाकोटी, रामशरण थपलिया, विदुर अधिकारी र सूर्यमणि रेग्मीले पनि गजल सुनाए।

लगत्तै जीवन सुवेदी आएर गजल गुनगुनाउन थाले :
जस्मा माटोलाई मोती बनाउने क्षमता देखिन्छ
उस्को आँखामा सपनाहरूको धैर्यता देखिन्छ

यदि फूलहरूले नै फूल फुलाउन छोडे भने
भन्नुस् त भमराहरूको हुल कता देखिन्छ ।।

सुवेदीले गजलका यी शेरसँगै माहोललाई थप गुञ्जायमान गराए। त्यसपछि जयन्ती अधिकारी, रुबिन पौडेल, विष्णु पौडेल, चिरञ्जीवी दाहाल, समिता पौडेल न्यौपाने, अनिता अर्याल, तीर्थराज खनाल, रुद्रराज कँडेल, करुणा उदासी कृष्णा, रामलाल कुमाल, देवीमाया सापकोटा, गोकर्ण मल्ल, सरस्वती पौडेल, सरगम पारू, विद्या भण्डारी चिराग, हरिप्रिया रिजाल, लीला दाहाल अधिकारी, सिम्रन क्षेत्री, हीरामणि शर्मा पौडेल, सरु न्यौपाने, गीता लामिछाने र कमल अर्यालले पनि गजल सुनाए।

कार्यक्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्षहरू किसान प्रेमी, गोर्खे साइलो, पुष्प अधिकारी अञ्जली, रमेश प्रभात र लेखराम सापकोटा साथै सल्लाहकार एवं गजलविज्ञ केशवराज आमोदीले पनि शुभकामना मन्तव्यसहित गजल प्रस्तुत गरेका थिए।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले शुभकामना मन्तव्य राख्दै आगामी पुस २७ गते चितवनमा गजल उत्सव गरिने जानकारी दिए। 

कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी साहित्य समाजका अध्यक्ष गणेश शर्मा पौडेलले गजल मञ्च चितवनका तर्फबाट पूर्वी चितवनमा बृहत् गजलवाचनको कार्यक्रम राखिनु महत्त्वपूर्ण पक्ष रहेको बताए। मञ्चका अध्यक्ष रामकृष्ण अनायासले जिल्लामा गजलका गतिविधिलाई प्राथमिकता दिइने बताए। कार्यक्रमका सभापति एवं रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले गजल विधाप्रति स्रोताहरूको अनुराग लोभलाग्दो रहेको बताए।

सुझावित समाचार