बर्दियाको ठाकुरबाबा–४ मा ६४ प्रतिशत मतदान

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा  शान्तिपूर्ण रूपमा मतदान सम्पन्न  भएको छ। वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ६३.७९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

ठाकुरबाबा नगरपालिका–४ मा जम्मा तीन हजार ५१० जना मतदाता छन्। जसमध्ये दुई हजार २३९ मत खसेको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले तोकेको समय बिहान ७ बजेदेखि सुरु भएको थियो भने साँझ ५ बजेसम्म मतदान प्रक्रिया जारी रहेको थियो। 

दुईवटा मतदानस्थल भएको उक्त वडामा कृषि पशु सेवा केन्द्रमा ७४२ र बबई शिशुमन्दिर मावि बर्गदहामा एक हजार ४९७ मत खसेको थियो। निर्वाचनका पाँच मतदाता केन्द्र राखिएको छ। 

ठाकुरबाबा नगरपालिका–४ मा महिला एक हजार आठ सय ३९ र  पुरुष एक हजार छ सय ७१ गरी  मतदाता तीन हजार ५१० जना मतदाता रहेका छन्। 

वडाध्यक्ष पदका लागि कांग्रेसबाट अमिन थारू, एमालेबाट विष्णुप्रसाद देवकोटा, माओवादीबाट शेरबहादुर थारू उम्मेदवार छन्। यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल थारू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नाबहादुर शाही उम्मेदवार छन्। वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख भएपछि हाल उपनिर्वाचन भएको हो।

मतगणना आजै 
मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले मतगणना आज साँझ करिब ८ बजेदेखि नै सुरु गर्ने जनाएको छ। मतदान सकिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने क्रम सुरु भएको छ। राजनीति सहमति जुटाई आज नै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए। 

सुझावित समाचार