उपनिर्वाचन अपडेट : गुल्मीको मुसीकोटमा २८.३५ प्रतिशत मत खस्यो

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

गुल्मीको मुसीकोट नगरपालिका– १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ११ सय ६० मत खसेको छ । वडा नं. १ मा चार हजार ९१ मतदाता रहेका छन् । अहिलेसम्म नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा ६०७ मत खसेको छ ।

त्यस्तै, सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा ३१८ मत र जनज्योति मावि मतदान केन्द्रमा २३५ मत खसेको निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिए । वडाध्यक्ष पदका लागि आठजनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार नेकपा एमालेको तर्फबाट दलबहादुर थापा, कांग्रेसबाट आनन्द श्रेष्ठ, माओवादी केन्द्रका दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ईश्वरी खातीले मनोनयन दर्ता गरेका थिए । त्यस्तै, स्वतन्त्र उमेदवारको रूपमा योगेन्द्र खरेल, पुमानन्द खरेल र कुलबहादुर थापाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले बताए ।

सबै सुरक्षा निकायहरूले मतदान स्थलको कडा सुरक्षा गरेका छन् । मतदान स्थलको संवेदनशीलता हेरेर सुरक्षाकर्मी परिचालन गरेकाले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । उनले बिहान कम मतदाताको उपस्थिति देखिएपछि बिस्तारै बढ्दै गएको बताए ।

तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि मुसीकोट नगरपालिका– १ मा उपनिर्वाचन भएको हो । मतदान सकिएपछि आजै मतगणनाको तयारी गरिएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । मतगणनास्थल निर्माण भइसकेकाले अवस्था हेरेर राति नै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत युवराज गौतमले बताए ।

सुझावित समाचार