भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालय बन्द गरिनुका साथै सयौँ मानिसलाई सुरक्षित स्थलमा सारिएको छ । चक्रवात फेंगलले ७०–८० किलोमिटर प्रतिघण्टाको हावाका साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्युरोले जनाएको छ ।
पूर्वानुमानले माछा मार्ने मानिसलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा निम्त्याउने जनाएको छ । तमिलनाडुका धेरै जिल्लामा विद्यालय तथा कलेज बन्द गरिनुका साथै कम्तीमा ४७१ जनालाई राहत शिविरमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ ।
पछिल्लो समयमा चक्रवातहरू उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै उत्तरी हिन्द महासागरमा नियमित खतराको रूपमा देखा परेका छन् ।
यस हप्ताको सुरुमा श्रीलंकाको तटमा फेंगलले ६ जना बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान लिएको थियो । वैज्ञानिकहरूले जीवाश्म इन्धनको जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुँदा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेको बताएका छन् ।