स्थानीय तह उपनिर्वाचनअन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको लागि नाैवटै वडामा मतदान जारी छ । जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीका अनुसार बिहान ७ बजे बाटै नाैवटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर तामाङको हृदयघातका कारण गत वर्ष निधन भएपछि उक्त पदमा आज निर्वाचन हुन लागेको हो ।
गाउँपालिका उपाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा सात राजनीतिक दल र नाै जना स्वतन्त्र गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा नेपाली कांग्रेसले स्व. श्यामसुन्दर तामाङकी श्रीमती पासदिकी तामाङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेकी उमा मगर शेर्पा, माओवादी केन्द्रकी निमलेकी शेर्पा, रास्वपाकी गोमा श्रेष्ठ, नेकपा समाजवादीकी रविना खड्का, राप्रपाकी मनकुमारी श्रेष्ठ र जनता समाजवादीबाट सपना कार्की चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारको संख्या नाै रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । १५ हजार ७१८ मतदाता रहेको गौरीशंकर गाउँपालिकामा मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने देखिएको छ ।