जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र कुसे गाउँपालिका- ७ को वडाध्यक्ष पदका लागि मतदान जारी छ । उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ । सो क्षेत्रअन्तर्गतका १८ वटा मतदान केन्द्र छन् ।
मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन् । शान्तिपूर्ण रूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख निर्वाचन अधिकृत घिमिरेले आग्रह गरे ।
उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार सुनिता बोहाेराले सूर्योदय मावि नलगाड- ३ कैनामा मतदान गरेकी छिन् । माओवादी केन्द्रको तर्फबाट उपप्रमुख पदका उम्मेदवार देवका लामिछानेले नलगाड– ५ जुनी मावि सिर्के मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
नेपाली कांग्रेसका तर्फबाट उपप्रमुख पदका उम्मेदवार इन्द्राचन्द सिंहले नलगाड नगरपालिका– ८ स्थित गणेश प्रावि मालुवा मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार पार्वती पुनले नलगाड- १ अनापानीमा मतदान गर्ने छिन् । मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका नलगाड नगरपालिका दल्ली ल्याइनेछ । कुसे गाउँपालिका केन्द्रमा मतगणना गरिनेछ ।
जिल्लामा नलगडमा २४ मतदान केन्द्र र कुसेमा दुई मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिकाभित्र १६ हजार ४४८ मतदाताले मतदान गर्नेछन् । यता कुसे- ७ मा एक हजार ३०२ मतदाता मतदाता रहेका छन् । नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको भूकम्पका कारण निधन भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो ।
उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर भेरी करिडोर नलगाड नगरपालिका खण्ड तथा स्थानीय सडकहरूमा सवारीसाधन पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ५ देखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
एम्बुलेन्स, दुध बोक्ने सवारीसाधन, शववाहन, फोहाेरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुने जिल्ला प्रशासन जाजरकोटले जनाएको छ ।