सबैको सहमतिमा बिआरआई : परराष्ट्रमन्त्री

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र चीनको सहमतिमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत परियोजना कार्यान्वयन हुने बताएकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक वार्ता गरेर चीनको छेन्दुबाट शनिबार काठमाडौं फर्केपछि परराष्ट्रमन्त्री राणाले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको स्पष्ट पारेको पनि बताइन् । 

‘अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘बिआरआई परियोजना अनुदानमा गर्ने भन्ने विषय कांग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ । वर्तमान सत्तासाझेदार दल एमालेलाई पनि यो जानकारी छ । त्यसैले अनुदानमा नै परियोजना अघि बढाउने विषयमा छलफल गरिरहेका छौँ ।’ चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजनाको विकल्पमा परराष्ट्रमन्त्री राणाले शुक्रबार समकक्षी वाङसँग बिआरआई कार्यान्वयनको वैकल्पिक अवधारणा राखेकी थिइन् । यसबारे प्रधानमन्त्री ओलीको चीन भ्रमणमा निर्क्याेल हुने वाङको जवाफ थियो । 

‘बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ । यो नेपाल र चीनबिचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ,’ परराष्ट्रमन्त्री राणाले भनिन् । उनले चिनियाँ विदेशमन्त्री वाङसँग भएको द्विपक्षीय भेटवार्ता सौहार्दपूर्ण रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीबारे कुराकानी भएको बताइन् । 

सुझावित समाचार