माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजमा दुःख पीडामा रहेकाहरूलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताए।
गत २८ कात्तिकमा झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन्।
दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी-मनोहरा नगरपालिका–२ आलापोटस्थित नगरकोटीनिवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गरे। उनको घोषणालाई समर्थन गर्दै उद्धव नेपालले गरिमा र अनुलाई १२ कक्षासम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री र पोसाक सहयोग गर्ने घोषणा गरे।
कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक सामग्री सहयोग गर्ने उद्धव नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग संकलन गर्ने आलापोटवासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिए। उनले भने, ‘पीडामा रहेका र सेवा आवश्यक व्यक्तिहरूलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ।’
दुर्घटनामा नगरकोटी दम्पतीको ज्यान गएको खबर सुनेपछि आलापोटमै पुगेर पीडित परिवारलाई भेटेको र स्थानीयवासीलाई पनि संक्षिप्त सम्बोधन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मेरो घोषणालाई सुनेर सहयोग गर्ने भावना पैदा हुनु महत्त्वपूर्ण छ, यो एउटा घटना विशेष सहयोग भए पनि दुःख पीडामा परेकाहरूलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्छ भन्ने यो देशैभरिका जनताका लागि एउटा सन्देश पनि हो।’
पार्टीले बालिकाहरूको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उनले त्यसलाई पूरा गर्ने र १२ कक्षासम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीलाई राम्रो वातावरणमा पठनपाठनको व्यवस्था मिलाउने बताए। सो क्रममा सहयोगी उद्धव नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गरे।