उद्घाटन खेल जित्न विराटनगरले दियो जनकपुरलाई १२८ रनको लक्ष्य

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग एनपिएलको पहिलो खेल जित्न विराटनगर किंग्सले जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्युजिल्यान्डका ३९ वर्षीय अनुभवी ब्याटर मार्टिनले अर्धसतक बनाएपछि विराटनगरले टस हारेर पहिला ब्याटिङ गर्दै सबै विकेट गुमाएर मात्र एक सय २७ रन बनायो । 

गप्टिलले ४३ बलमा सात चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए । गप्टिलल ३६ बलमा ७ चौका र एक छक्कासहित अर्धसतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनी हर्ष थाकरको बलमा कप्तान अनिलकुमार शाहबाट क्याच आउट हुन पुगेका थिए । 

ओपनर गप्टिलले अर्धसतक बनाउँदा विराटनगर १२.१ ओभरमा ८३–३ को अवस्थामा थियो । यसबाहेक अकिब इल्यासले १८ बलमा १५ रन बनाए । दुई खेलाडी बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

ओपनर लोकश बमले ५, निकोलस किर्टनले ९, बसिर अहमदले ७, राजेश पुलामीमगरले १, प्रतिश जिसीले २ तथा कप्तान सन्दीप लामिछाने ७ रन, क्रिस सोल ४ रन बनाएर आउट भएका थिए । 

टस जितेर बलिङ गरेको जनकपुरको लागि ललितनारायण राजवंशीले तीन विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिएका थिए । उनी नै एनपिएलमा पहिलो विकेट लिने खेलाडी बनेका छन् । ललितले दोस्रो ओभरको पहिलो बलमा विराटनगरका लोकेश बमलाई बोल्ड गरेका थिए । त्यस्तै किशोर महतो र हर्ष थाकरले समान दुई विकेट हात पारे । बेन माइक र मोहमद मोहसिनले समान एक विकेट लिएका थिए ।  

यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता लिएको क्यान स्रोतले बतायो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटनसत्रमा  राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो । 

उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए । 
    
८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । नेपाल क्रिकेट संघ ९क्यान०ले विजेतालाई १ करोड ११ लाख र उपविजेताले ५५ लाख पाउने जनाएको छ । त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।
 

सुझावित समाचार