लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुन्चेस्थित सुरक्षा जाँच चौकीले जनाएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहका अनुसार निकुञ्जमा प्रवेश गरेबापत नियमानुसारको शुल्कबाट कुल रु. एक करोड ६८ लाख ७५ हजार ८०० राजस्व संकलन भएको छ। नेपालीलाई रु. १००, सार्क राष्ट्रका नागरिकलाई रु. एक हजार ५०० र अन्य देशका लागि रु. तीन हजार निकुञ्ज प्रवेश गरेबापत शुल्क लिने कानुनी प्रावधान रहेको बताइएको छ।

प्रत्येक वर्ष असोजदेखि पुस १५ र फागुनदेखि जेठ १५ गतेसम्म यी दुई याममा पर्यटकको आगमन हुने गरेको निकुञ्जले जनाएको छ। पर्यटकको सुविधाका लागि काठमाडौंमा भृकुटीमण्डप र रसुवाको धुन्चे ब्राबल तथा हेलम्बु पोस्टका स्थानबाट शुल्क लिने व्यवस्था मिलाइएको पर्यटकका अभिलेखकर्ता रेन्जर केशव ढडारीले जानकारी दिए।

पवित्र तीर्थ गोसाईंकुण्ड रहेका कारण आन्तरिक पर्यटक भने बढी मात्रामा गोसाईंकुण्ड केन्द्रित हुने गरेको बताइएको छ। रसुवाको उच्च भागमा रहेका हिमशृंखला, सेताम्मे हिमाल, तालतलैया, ककरो भिर, उकाली ओराली भञ्ज्याङ चौतारी, स्थानीय भेषभूषा, भर्ना, स्थानीय परिकारका खाना एवं विविध प्राकृतिक सम्पदाले रम्न पाइने गरेको व्यवसायी बताउँछन्।

पर्यटकीय मार्गको धुन्चे(गोसाइँकुण्ड, ठुलोस्याफ्रु, स्याफ्रु–लाङटाङका मार्गका सबै होटेल तथा लज चालू रहेको र खान बस्न कुनै समस्या नहुने होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए।

यस्तै, गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा भ्रमण गर्दा निस्कने फोहोर तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने जनावरलाई माया गरी संरक्षण गरिदिन, कुनै पनि वनस्पति नकाट्न सबै यात्रुमा अनुरोध गरिएको वरिष्ठ संरक्षण प्रमुख साहले अनुरोध गरे।

सुझावित समाचार